रवि लामिछानेलाई आज अदालतमा उपस्थित गराइँदै

सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई आज अदालतमा हाजिर गराइँदैछ ।

शुक्रबार पक्राउ पुर्जीमात्रै जारी गरेर रातारात पोखरा ल्याइएको भए पनि भोलिपल्ट शनिबार परेकाले उनलाई आज आइतबारमात्रै अदालत खुलेपछि उपस्थित गराउन लागिएको हो । उनीविरूद्ध कास्की जिल्ला अदालतले सहकारी ठगी र संगठित अपराधको कसुरमा अनसुन्धानका लागि पक्राउ पुर्जी जारी गरेको थियो ।

आइतबार म्याद थप गरेपछि प्रहरीले लामिछानेसँग बयान लिने र अनुसन्धान अघि बढाउनेछ।

अनुसन्धान पूरा भएपछि जिल्ला सरकारी वकिलको कार्यालयमार्फत अदालतमा मुद्दा दर्ता हुन्छ। अनि लामिछानेलाई कारागार राखेर अदालती प्रक्रिया अघि बढाउने कि पुर्पक्षका लागि कारागार पठाउने भनेर थुनछेक बहस हुन्छ। थुनछेक आदेशमा लामिछानेलाई कारागार पठाउने कि बाहिर बसेर मुद्दा लड्न दिने निर्णय आउनेछ ।

थुनछेक आदेश आए पनि अदालतबाट अन्तिम निर्णय नआउँदासम्म लामिछानेमाथि लागेको आरोप पुष्टि हुँदैन । अन्तिम आदेशमा उनलाई दोषी वा निर्दोष फैसला भएपछि मात्र सहकारी ठगी एवं संगठित अपराधमा उनको संलग्नता छ कि छैन भनेर निर्णय हुनेछ । त्यतिबेलासम्म लामिछाने र उनका समर्थक वा विरोधीले पर्खनुपर्ने हुन्छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार