चिउरीको दाना पेलेर घ्यूको जोहो गरिँदै

गाउँका घरमा भोटेताल्चा लागेका, गाउँ सुनसान तर गाउँको बीचमा रहेको टिनको टहरामा ढिकी कुटेको आवाज एकनासले आइरहेको छ । नजिकै आगो बालेको धुवाँ आइरहेको छ । आगोमाथि कालो भाँडोबाट एकनासले बाफ निस्किरहेको छ । गाउँले धेरैजसो यसरी नै सोही ठाउँमा चिउरीका बिजुला कुट्न र पेल्दै गरेका भेटिए ।

गाउँघरमा कोल र ढिकी लोप हुँदै गइरहेका बेला दाङको घोराही उपमहानगरपालिका–१८ घोरदौराका नागरिकले परम्परागत प्रविधि प्रयोग गरी घ्यू उत्पादन गर्ने गरेका छन् । घोरादौरको लामीधारा गाउँमा १४ परिवारको बसोबास छ । सोही गाउँका राधा गिरी चिउरीका बिजुला पकाउँदै गरेको अवस्थामा भेटिइन् । उनले जङ्गलमा खेर गइरहेको चिउरीको दाना पेलेर गरेर घ्यू उत्पादन गर्ने गरेको बताइन् ।

घरको कामबाट फुर्सद निकालेर नजिकैको जङ्गलमा गएर चिउरी टिप्ने गरेको उनले सुनाइन् । “प्रत्येक वर्ष बिजुला टिप्ने र पेल्ने गर्छौँ, यस वर्ष पाँच मुरी चिउरी टिपेका थियौँ, त्यही पेलेर घ्यू बनाउँदैछौँ”, गिरीले भनिन् । जङ्गलमा खेर गइरहेको चिउरीको दाना पेलेर घरमै घ्यू उत्पादन गर्दै आएको उनले बताइन् ।

उनले भनिन्, “बाउबाजेको पालादेखि घोरदौरामा चिउरीको राम्रो उत्पादन हुँदै आएको छ, हामीले पनि प्रत्येक वर्ष घ्यू उत्पादन गर्दै आएका छौँ ।” चिउरीकै घ्यू प्रयोग गरेर खाना पकाउँदै आएको गिरीले बताइन् । तिहारमा रोटी पकाउन पनि चिउरीको घ्यू प्रयोग गर्ने उनले बताइन् ।

बजारको तेलप्रति रुचि नभएको उल्लेख गर्दै उनले घरमै एकपटक चिउरीको बियाँ पेलेपछि वर्षभरिलाई पुग्ने गरेको बताइन् । गाउँका सबै मिलेर चिउरी कुट्ने, पेल्ने गरेका छौँ, एक्लै काम गर्न गाह्रो हुन्छ गाउँघरका सबै मिलेर पालैपालो काम गर्ने गरेको गिरीले बताइन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार