केटी साथी भेट्न नदिएको निहुँमा सिरहामा २१ वर्षीय महराको हत्या

सिरहामा लागुऔषध सेवनकर्ताको समुहले आफ्नै साथीको हत्या गरेको खुलेको छ । गोलबजार नगरपालिका–१३ स्थित डंगराहाका २१ वर्षीय कृष्णकुमार महराको हत्या उनकै पाँच जना साथीले मिलेर गरेको प्रहरीले जनाएको छ ।

गत असोज २८ गते साँझ सुखीपुर नगरपालिका-१० स्थित गागन खोलाको किनारमा शरीरको कम्मरभन्दा माथिको भाग बालुवाले छोपेको अवस्थामा महाराको शव भेटिएको थियो ।

हत्या आरोपमा प्रहरीले गोलबजार नगरपालिका–१३, डंगराहा टोलका २७ वर्षीय सन्तोषकुमार महरा, २८ वर्षीय रोहित कुमार महरा, २१ वर्षीय धर्मेन्द्र महरा, १९ वर्षीय धिरज कुमार राम र २० वर्षीय मोहमद जमसेदलाई पक्राउ गरेको सिरहाका प्रहरी प्रवक्ता डिएसपी विरेन्द्रकुमार पासवानले जानकारी दिए ।

उनका अनुसार असोज २७ गते राति कृष्ण र रोहित सुखिपुर नगरपालिका–१०, शिवचौकमा दुर्गा पूजाको मेलामा गएका थिए । त्यहाँ उनीहरूका अन्य साथीहरू पनि भेट भए ।

उनीहरु सबैले लागुपदार्थ सेवन गर्ने योजना बनाउँदै मेला स्थलभन्दा पूर्वतिरको खोलानजिक पुगेर गाँजा र लागुऔषध नाइट्राभेट ट्याबलेट सेवन गरे ।

त्यसै क्रममा कृष्णले आफूले चिनेकी एक केटी साथीलाई भेट्न बोलाउने योजना रहेको सुनाए । उनीसँगै रहेका उनका अरू साथीहरूले पनि ती महिलासँग भेट्ने बताएपछि विवाद भयो ।

विवाद बढ्दै गएपछि पाँचै जनाले कृष्णलाई चारतैतिरबाट घेरा हालेर धारिलो कैंचीले घाँटी र पेटमा प्रहार गरी निर्ममतापूर्वक हत्या गरेको खुलेको डिएसपी पासवानले जानकारी दिए ।

घटना लुकाउन उनीहरूले गागन खोलाको पश्चिमतर्फ खाल्डो खनेर कृष्णको शरीरको माथिल्लो भाग बालुवाले ढाकेर फरार भएका थिए ।

गत कात्तिक २ गते राति आरोपीहरुलाई पक्राउ गरी कर्तव्य ज्यान मुद्दामा सिरहा जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार