११ दिनपछि अनिवार्य अवकाशमा जान लागेकी राणा एआईजीमा बढुवा सिफारिस

यही कात्तिक १६ गते अनिवार्य अवकाशमा जान लागेकी डीआईजी किरण राणा एआईजीमा बढुवा सिफारिस भएकी छन् ।

आइतबार साँझ बसेको बढुवा समितिको बैठकले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयमा कार्यरत राणालाई एआईजीमा बढुवा सिफारिस गरेको हो ।

राणाभन्दा अगाडि रहेका बुद्धिराज गुरुङ र दुर्गा सिंहलाई छाडेर बढुवा सिफारिस समितिले राणालाई बढुवा सिफारिस गरेको हो । श्याम ज्ञवाली अवकास भएपछि भदौ २४ गतेदेखि नेपाल प्रहरीको जनपद समूहतर्फ एआईजी पद रिक्त छ । गुरुङ अहिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालय टंगालमा कार्यरत छन् भने सिंह गण्डकी प्रदेश प्रहरी कार्यालयको प्रमुखको रुपमा कार्यरत छिन् ।

अहिले बढुवाका लागि सिफारिस भएकी राणा भने १५ कात्तिकमा एआईजीको ५६ वर्षे उमेर हदका कारण अनिवार्य अवकाशमा जाँदै छिन् ।

प्रहरी नियमावली अनुसार बढुवा सिफारिस भएको ७ दिनसम्म बढुवा गर्न मिल्दैन । यसअनुसार १० कात्तिकसम्म राणा बढुवा हुने छैनिन् ।

एआईजी बढुवाको निर्णय मन्त्रिपरिषद्ले गर्नुपर्छ । मन्त्रिपरिषद् बैठकले ११ गते नै राणालाई बढुवाको निर्णय गरे पनि उनी जम्मा ४ दिनमात्रै एआईजी हुने पाउनेछिन् । १५ कात्तिकबाट अनिवार्य अवकाश हुने भएकाले उनको १४ कात्तिकमै बिदाइ हुनेछ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार