चार बालिकालाई बन्धक बनाई यौन व्यवसायमा लगाएको आरोपमा एक महिला पक्राउ

बालिकालाई बन्धक बनाएर आफ्नै घरमा यौन धन्दा चलाएको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ ।

नुवाकोटको तादी गाउँपालिका–३ स्थायी घर भइ हाल काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका–४ मुलपानी बस्ने ४३ वर्षकी सीता गोतामेलाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीको मानव बेचविखन अनुसन्धान ब्यूरोले पक्राउ गरेर उनलाई अदालतबाट म्याद लिएर मानव बेचबिखन तथा ओसारपसारको कसुरमा अनुसन्धान गरिरहेको ब्यूरोका प्रवक्ता एसपी गौतम मिश्रले जानकारी दिए । उनलाई प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोको टोलीले २ कात्तिकमा मुलपानीबाट पक्राउ गरेको हो ।

उनले बन्धक बनाएर चार बालिकालाई यौन व्यवसायमा लगाएको पाइएको ब्यूरोका एसपी तथा प्रवक्रा गौतम मिश्रले बताए । प्रहरीले उनको घरबाट चार बालिकाको उद्धार समेत गरेको छ ।

गोतामेले आफ्नो घरमा भाडा माझ्ने, सरसफाइको काममा लगाउने र मासिक २० हजार रुपैयाँ दिने भन्दै बालिकालाई प्रलोभन देखाएर यौन व्यसायमा लगाएको पाइएको प्रहरीले जनाएको छ ।

बालिकालाई यौन व्यवसायमा लगाएर उनले प्रति ग्राहक १ हजारदेखि ३ हजार रुपैयाँसम्म लिने गरेको दाबी प्रहरीको छ । पक्राउ परेकी महिलाविरुद्ध मानव बेचबिखन तथा ओसारपसारको कसुरमा अनुसन्धान अघि बढाइएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार