माधव नेपालले दिए ओलीलाई चेतावनी– अरू पार्टीलाई टुक्र्याउने दुस्साहस गरे परिणाम नराम्रो हुनेछ

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले पार्टी विभाजन गर्ने अध्यादेश ल्याउने दुस्साहस नगर्न सरकारलाई चेतावनी दिएका छन् ।

सोमबार पार्टी लुम्बिनी प्रदेश स्तरीय विस्तारित बैठकलाई कपिलवस्तुमा सम्बोधन गर्दै अध्यक्ष नेपालले अरूलाई सिध्याउने हिटलरी शैलीलाई परित्याग गर्न घुराउरो शैलीमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई चेतावनी दिएका हुन् ।

सरकारले अरू पार्टीलाई टुक्र्याउने दुस्साहस गरे त्यसको परिणाम नराम्रो हुने उनले चेतावनी दिए । ‘आज के सूचना आएको छ भने यो सरकारले अध्यादेश ल्याउन खोज्दै छ रे ! म भन्छु खबरदार ! अरू पार्टीलाई टुक्‌र्याउने दुस्साहस यो सरकारले गर्छ भने त्यसको परिणाम नराम्रो हुनेछ,’ उनले भने, ‘त्यसको परिणाम सरकारले भोग्नुपर्ने हुन्छ । ख्याल होस् अरूलाई सिध्याउँछु भनेर लाग्नेहरू आफैं समाप्त भएर जान्छन् । संसारको इतिहासले बताएको छ । संसारले समाप्त गर्छु भन्ने हिटलर मर्ने बेलामा एक्लो थियो । त्यसैले हिटलरी शैलीलाई परित्याग गर्नुस् ।’

आफूहरूमा एमाले वा अध्यक्ष केपी शर्मा ओली कसैसँग पनि बदलाको भावना नभएको उनले बताए । ‘बरू विकास गरेर देखाउनुहोस् । यो देशले विकास गर्न पाएको छैन । देश विकास कसरी गर्ने भन्ने विषयमा हामी सहयोगी बन्छौं । हाम्रो मनमा केपी ओली वा एमाले कसैसँग बदलाको भावना छैन,’ नेपालले भने ।

विचार र मन मिल्नेसँग मोर्चा सहकार्य र हातेमालो गरेर पार्टी अघि बढ्ने उनले बताए । तर, एकता भने नगर्ने नेता नेपालको भनाइ छ । ‘हामी कतै विलीन हुँदैनौं, कसैले माओवादी, कसैले एमालेसँग एकता गर्छ भन्ने अनावश्यकता चर्चा गरेका छन् । त्यसमा सत्यता छैन,’ उनले भने, ‘कसैले पनि मन खुम्चाउनुपर्ने आवश्यकता छैन । हामी कतै विलीन हुँदैनौं । माओवादी र एमालेसँग विलीन हुँदैनौं ।’ चुनौती धेरै भए पनि पार्टी आफ्नै शक्तिमा उभिएर अघि बढ्दै गएको नेपालले बताए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार