प्रधानमन्त्री नै भ्रष्टाचारीको संरक्षक रहेको ओलीले पुष्टि गरे : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानन्त्रीले नै यो सरकार भ्रष्टाचारीको संरक्षक हो भन्ने पुष्टि गरेको बताएका छन् ।

प्रेस सेन्टर जुम्लाले आज जुम्लाको सिञ्जा कनकासुन्दरीमा गरेको पत्रकार भेटघाटलाई सम्बोधन गर्दै उनले आफूले सरकार गठन भएदेखि नै यो सरकार भ्रष्टाचारीलाई बचाउन बनेको भन्दै आएको र अहिले त्यो आरोप प्रधानमन्त्री स्वयंले पुष्टि गरेको बताएका हुन् ।

सरकारी जग्गा जबर्जस्ती व्यक्तिका नाममा लैजाने व्यवसायीबाट जग्गा दान लिएर ओलीले भ्रष्टाचारीको संरक्षण गरेको प्रचण्डको भनाई छ ।

‘मैले उतिबेला नै भनेको थिएँ, यो सरकार भ्रष्टाचारीलाई बचाउन बनेको हो, भ्रष्टाचारलाई प्रोत्साहन गर्न बनेको हो, सरकार गठनको तीन महिना पुग्दै छ, तपाईंहरुले सबै देखिरहनुभएको छ’, अध्यक्ष प्रचण्डले भने, ‘मेरो नेतृत्वको सरकारले जसलाई राज्यको जमिन जबर्जस्ती व्यक्तिमा नाममा लैजाने जस्तो ठगी गरेको कारण गिरफ्तार गरेको थियो र अदालतमा मुद्दा पनि चलिरहेको छ, तिनै व्यवसायीबाट जग्गा दान लिने जस्तो कार्य गरेर प्रधानमन्त्री आफैँले यो सरकार भ्रष्टाचारीको संरक्षक हो भन्ने पुष्टि गरेका छन् ।’

प्रचण्डले सरकारको नेतृत्व गरिरहेको एमालेले व्यवसायी मीनबहादुर गुरुङबाट १० रोपनी १४ आना जग्गा दानमा लिएको प्रसंग उल्लेख गरेका हुन् । गुरुङले एमालेको केन्द्रीय कार्यालय दानमा बनाइदिने घोषणा गरेका छन् । उक्त जग्गामा प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओलीसँगै गुरुङले केन्द्रीय कार्यालय शिलान्यास गरेका थिए । गुरुङ अदालतबाट भ्रष्टाचारी ठहर भएका व्यक्ति हुन् भने उनीविरुद्ध अदालतमा अन्य मुद्दा विचाराधीन छन् ।

सरकारले गर्नुपर्ने काम नगरेको र नगर्नुपर्ने काम गरिरहेको पूर्वप्रधानमन्त्री प्रचण्डको भनाइ थियो । उनले अब सरकार गठन भएको सय दिन पूरा भएपछि विरोधका कार्यक्रम सुरु गर्ने पनि जानकारी दिए । ‘सरकारले जतिसुकै नराम्रो काम गरे पनि हामीले ‘हनिमुन पिरियड’ मानिने सय दिनसम्म प्रतिनिधिसभाबाट खबरदारी वक्तव्य दिनेबाहेक अन्य विरोधका कार्यक्रम गरेका छैनौं । आजमात्रै हामी विपक्षी दलहरूका तर्फबाट सरकारलाई ज्ञापनपत्र दिँदैछौं र सय दिन पुगेपछि विरोधका कार्यक्रम सुरु हुन्छन्,’ उनले भने ।

उनले आफूले सरकारको नेतृत्व गरेको बेलामा देशभित्र जनताको आशा जगाउँदै विश्व समुदायमाझ पनि नेपालको प्रतिष्ठा प्रवर्धनलाई अघि बढाएको बताए । दुई छिमेकी देशको भ्रमणमा ऐतिहासिक समझदारीहरु भएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले थपे, ‘संयुक्त राष्ट्रसंघको महासभा, विश्व खाद्य सम्मेलन, कोप २८ सम्ममा लिएको हस्तक्षेपपूर्ण पहलकदमीले विश्वको ध्यान नेपालतर्फ आकर्षित भएको थियो ।’ 

महासभाका क्रममा संयुक्त राष्ट्रसंघका महासचिवलाई निम्तो दिएर विभिन्न युद्धको जटिल अवस्थामा समेत महासचिव नेपाल आउनु महत्वपूर्ण उपलब्धि भएको उल्लेख गर्दै उनले थपे, ‘गौतम बुद्धको जन्मस्थल लुम्बिनीबाट उहाँ र मैले विश्व शान्तिका लागि अपिल गरेका थियौं । यी सबै पहलकदमीले विश्वको ध्यान नेपालमा तानिएको थियो भने नेपालको पक्षमा अन्तर्राष्ट्रिय जनमत राम्रो बनेको थियो ।’

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार