माल्दिभ्सको पोस्टमा नेपालको ११ गोल 

काठमाडौं । नेपालले साफ वुमन्स च्याम्पियनसिप २०२४ मा माल्दिभ्स विरुद्ध गोलको वर्षा गर्दै ११-० को फराकिलो जित निकालेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा नेपालका लागि रेखा पौडेलको एक्लैले पाँच गोल गरिन् । यस्तै प्रीति राईले पनि ह्याट्रिक गरिन् । सविता राना मगर, अनिता केसी र अमिसा कार्कीले एक-एक गोल गरिन् ।

यस साफ वुमन्स च्याम्पियनसिपमा पहिलो जतिपछि दुई खेलबाट ४ अंक जोडेको नेपाल समूह बी मा शीर्ष स्थानमा उक्लेको छ । दुई खेलबाट समान ४ अंक भएपनि भुटान गोल अन्तरमा पछि छ । श्रीलंकाको ३ अंक छ । लगातार दुई खेल हारेपछि माल्दिभ्सको सेमिफाइनल पुग्ने सम्भावना सकिएको छ ।

पहिलो हाफमा चार गोल गरेको नेपालले दोस्रो हाफमा ५ गोल थपेको थियो । पहिलो हाफमा रेखा पौडेलले दुई तथा प्रीति राई र सविता राना मगरले एक-एक गोल गरेपछि नेपालले ४-० को अग्रता बनाएको थियो ।

खेलको सुरुवातदेखि नै नेपालले बलमाथि पकड राख्दै लगातार विपक्षीको पोष्टमा आक्रमण गरेको थियो ।

छैटौं मिनेटमा प्रीति राईको गोलबाट नेपालले अग्रता लिएको थियो । सविता रानाको कर्नर पासमा प्रीतिले बायाँ साइडबाट हानेको प्रहार गोल भएको थियो ।

सविताले २९ औं मिनेटमा बक्स बाहिरबाट सुन्दर गोल गर्दै अग्रता दोब्बर पारिन् । त्यसपछि रेखा पौडेलले ३२ औं र ४२ औं मिनेटमा गोल गरिन् । रेखाले पहिलो गोल रश्मीकुमारी घिसिङको कटब्याक पासमा चेस्टले गोल गरेकी हुन् ।

रेखाले अर्को गोल सविताको पासमा गरेकी हुन् । दोस्रो हाफमा पनि नेपालले माल्दिभ्स विरुद्ध पूर्ण दबाब बनाउँदै एकपक्षीय रुपमा आक्रमण गरेको थियो ।

त्यसको नतिजा ४८ औं मिनेटमा रेखा पौडेलले गोल गर्दै ह्याट्रिक पूरा गरिन्। जारी साफमा ह्याट्रिक गर्ने पहिलो खेलाडी समेत बनिन् ।

नेपाली खेलाडीले साफ वुमन्स च्याम्पियनसिपमा २०१६ पछि पहिलो पटक ह्याट्रिक गरेको हो । सन् २०१६ मा भारतको सिलगुरीमा भएको चौथो संस्करणको साफमा सावित्रा भण्डारीले माल्दिभ्स विरुद्ध नै ह्याट्रिकसहित ५ गोल नै गरेकी थिइन् ।

रेखा ह्याट्रिक पछि पनि रोकिएनन् र ६३ औं र ७८ औं मिनेटमा गोल थपिन् । ६५ औं मिनेटमा प्रीति राईले व्यक्तिगत दोस्रो गोल गरिन् । प्रीतिले ८७ औं मिनेटमा पेनाल्टी मार्फत गोल गर्दै ह्याट्रिक पूरा गरिन् । यस्तै वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका अनिता केसीले ६८ औं र अमिशा कार्कीले ८८ औं मिनेटमा गोल गरिन् ।

यसै खेलबाट पहिलो पटक राष्ट्रिय टिममा परेकी सजनी थोकरले पनि डेब्यूको अवसर पाइन् । उनी ६७ औं मिनेटमा गीता रानाको स्थानमा मैदान प्रवेश गरेकी थिइन् ।

फ्रान्समा व्यवसायिक फुटबल खेलिरहेकी सावित्रा भण्डारी साफका लागि गएराती नेपाल आइपुगेर टिममा सामेल भएपनि उनी बेन्चमै रहिन् ।

नेपालले समूहको अन्तिम खेल श्रीलंकासँग बिहीबार खेल्नेछ भने माल्दिभ्सले सोही दिन भुटानको सामना गर्नेछ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार