माओवादीले कात्तिक १० गते काठमाडौँमा खबरदारी सभा गर्ने

नेकपा माओवादी केन्द्रले यही कात्तिक १० गते काठमाडौंमा खबरदारी सभा गर्ने भएको छ ।

सरकारका गलत कदमको विरोध र गर्नुपर्ने कामका लागि ध्यानाकर्षण गराउन भन्दै काठमाडौंको प्रदर्शनीमार्गमा कात्तिक १० गते खबरदारी सभा गर्ने निर्णय गरेको माओवादी केन्द्रले जनाएको छ ।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज पार्टी कार्यालय पेरिसडाँडामा आयोजित पार्टीको बागमती र विशेष प्रदेश समन्वय समिति तथा जनवर्गीय संगठनका इञ्चार्ज तथा अध्यक्षहरुको संयुक्त बैठकलाई सम्बोधन गर्दै पार्टी केन्द्रीय कार्यालयको बैठकले खबरदारी सभा गर्ने निर्णय गरेको जानकारी गराए । उनले खबरदारीसभाको तयारीमा जुट्न सबै कमिटीहरुलाई निर्देशन पनि दिए ।

माओवादी केन्द्रले विपत् व्यवस्थापनमा देखिएको सरकारको असंवेदनशीलता, गैरजिम्मेवारीपन र योजनाविहीनताका कारण बेपत्ताहरुको खोजी, राहत वितरण, घाइतेहरुको उपचार, अस्थायी आवास निर्माण लगायत पुनर्निर्माण र पुनर्स्थापनाको क्षेत्रमा देखिएका समस्या समाधान गर्न, आफ्नो पार्टी नेतृत्वको सरकारले सुरु गरेको सुशासनको अभियानलाई कमजोर बनाउन भइरहेका षड्यन्त्र र भ्रष्टाचारजन्य गतिविधिलाई निष्तेज पार्न खबरदारीसभा गर्ने जनाएको छ ।

त्यस्तै सामाजिक न्यायका मुद्दामा सरकारको गम्भीर ध्यानार्षण गराउन, सुशासन, सामाजिक न्याय र आर्थिक विकास तथा समृद्धिका पक्षमा अभिमत प्रकट गर्न, नेपाल विद्युत् प्राधिकरणलगायत सार्वजनिक संस्था, विश्वविद्यालयसहित शिक्षण संस्था र कर्मचारीतन्त्रमा गरिएको चरम राजनीतीकरण र हस्तक्षेपको प्रतिवाद गर्न र बढ्दो बजारभाउ र कालाबजारी नियन्त्रणका लागि पहल गर्न खबरदारी सभा गर्न लागिएको माओवादी केन्द्रको दाबी छ ।

माओवादी केन्द्रले सहकारीपीडित, मिटरब्याज र लघुवित्तपीडितका समस्या समाधानका लागि आवाज बुलन्द गर्न, मुलुकलाई दुईदलीय तानाशाही प्रणालीमा लैजाने उद्देश्यसहित राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश जारी गर्ने षड्यन्त्रको पर्दाफास गर्न, राष्ट्रिय हितको रक्षा र प्रवर्धन गर्न तथा सरकारको यथास्थितिवादी र प्रतिगामी गतिबिधिविरुद्ध खबरदारी थाल्न लागिएको माओवादी केन्द्रले जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार