सवारीसाधन गुड्न मिल्ने गरी सञ्चालनमा आयो सिन्धुली–रामेछाप जोड्ने बेलिब्रिज

बाढीले बगाएको सिन्धुलीको गोलन्जोर गाउँपालिका –७ खुर्कोट र रामेछापको मन्थली नगरपालिका –६ सेलेघाट जोड्ने सुनकोशी नदीमा निर्माण गरिएको बेलिब्रिज आजबाट सञ्चालनमा आएको छ ।

खुर्कोट–मन्थली सडक अन्तर्गत उक्त पुलको आधा भाग (रामेछाप जिल्लातर्फको) असोज १२ गते सुनकोशी नदीमा आएको बाढीले बगाएपछि नेपाली सेनाको प्राविधिक टोलीले त्यहाँ असोज २० गतेदेखि बेलिब्रिज निर्माण (जडान) सुरु गरेको थियो ।

उक्त पुलको सोमबार भारवहन क्षमता जाँच गरी आजबाट सञ्चालन गरिएको सिन्धुलीका प्रमुख जिल्ला अधिकारी लीलाप्रसाद शर्माले जानकारी दिए । ‘आजबाट माइक्रो, सुमो, बस पुलमार्फत रामेछाप सिन्धुली आउजाउ गर्न सक्नेछन्’, प्रजिअ अधिकारीले भने, ‘ढुवानीका साधन चल्न भने पुलको भारलोड थप चेकजाँच गर्नुपर्छ ।’

सडक डिभिजन कार्यालय खाल्टे सिन्धुलीका अनुसार प्राविधिक स्टिमेटअनुसार उक्त पुलको भारबहन क्षमता २२ टन भए पनि हाल १५ टन क्षमताको सवारी साधन मात्र आवतजावत गर्न पाउनेछन् ।

एसियाली विकास बैंकको १७ करोड रुपियाँभन्दा बढी सहयोगमा रोड कनेक्टिभिटी सेक्टर आयोजनाले सुनकोशी नदीमा दुई वटा स्पानको सो पुल आर्थिक वर्ष २०७१–७२ मा निर्माण गरेको थियो ।

रामेछाप, दोलखा, सोलुखुम्बु र ओखलढुङ्गाका केही भागलाई तराईसँग जोड्न बीपी राजमार्ग र मध्यपहाडी राजमार्गका लागि खुर्कोटस्थित सुनकोशी नदीको पुल वरदान सावित भएको स्थानीयले बताएका छन् । पुल निर्माणसँगै रामेछाप र दोलखा जिल्लाको खुर्कोटस्थित बीपी राजमार्गसँगको सम्पर्क जोडिएको छ ।

गोलन्जोर गाउँपालिकाका अध्यक्ष शङ्कर बरालले खुर्कोटमा बेलिब्रिज निर्माणसँगै हिमाल, पहाड र तराईको सम्बन्ध जोडिएको बताए । तराई र हिमाललाई छोटो दूरीमा जोड्ने बीपी राजमार्ग जोडिएको खुर्कोट पुल तराईका जिल्लाबाट रामेछाप र दोलखा जिल्लालाई खाद्यान्नलगायत दैनिक उपभोग्य वस्तु ढुवानी गर्ने एक मात्र नाका भएको गाउँपालिका अध्यक्ष बरालको भनाइ छ ।

असोज ११ बाट आएको ठूलो वर्षाले बीपी राजमार्गसहितका सडकमा क्षति पुर्‍याएको थियो । रोशी खोलाले बगाएको बीपी राजमार्ग अस्थायी रुपमा दशैँअघि सुरु भए पनि रामेछाप र सिन्धुली जोड्ने बेलिब्रिज नहुँदा घुमेर हिँड्नुपर्ने बाध्यता थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार