रूपन्देही जिल्ला अदालतमा छविलालको बयान चल्दै गर्दा अगाडि सुप्रिम सहकारी पीडितको प्रदर्शन

सहकारी पीडितहरूले रूपन्देही जिल्ला अदालतअगाडि विरोध प्रदर्शन गरिरहेका छन् । सरकारी वकिल कार्यालयमा गोर्खा मिडिया नेटवर्कका उपाध्यक्ष एवं पूर्वडीआईजी छविलाल जोशीको बयान चलिरहेका बेला पीडितहरूले बचत फिर्ता र रकम अपचलन गर्नेलाई कारबाहीको माग गर्दै सरकारी वकिल कार्यालय नजिकै प्रदर्शन गरेका हुन् ।

पीडितहरूले सरकारी वकिल कार्यालयअघि प्रदर्शनको तयारी गरेका थिए । तर, प्रहरीले त्यहाँ प्रदर्शनमा रोक लगाएपछि झण्डै ५० मिटरको दूरीमा रहेको जिल्ला अदालतअघि प्रदशर्न गरिएको सुप्रिम सहकारी पीडित संघर्ष समितिका संयोजक विजय नेपालले बताए । उनीहरूले सुप्रिमको बुटवल शाखा व्यवस्थापक सागर केसी र सहकारीका अध्यक्ष गीतेन्द्रबाबु (जीबी) राईलाई राजनीतिक संरक्षणमा भगाइएको आरोप पनि लगाएका छन् ।

पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलनसम्बन्धी अनुसन्धानमा रहेका जोशीलाई सोमबार जहाजमार्फत बुटवल ल्याइएको थियो । उनलाई मंगलबार र बुधबार बयान गरेर बिहीबार पोखरा नै फिर्ता गर्ने तयारी छ । संसदीय छानबिन विशेष समितिको सिफारिसमा असोज ६ गते जोशी पक्राउ परेका थिए ।

जोशीको बयान चलिरहँदा अदालत अगाडि प्ले कार्ड र कालो ब्यानरमा नारासहित विरोध प्रदर्शनमा उत्रिएर सरकारी कार्यालयतर्फ जान खोज्नेलाई प्रहरीले रोकेको छ । वडा प्रहरी कार्यालय भैरहवाका प्रमुख प्रहरी निरीक्षक नेत्र बुढाले प्रहरीले अनुसन्धान सुरु गरिरहेको भन्दै विरोध प्रदर्शन नगर्न आग्रह गरेका थिए । त्यसपछि पीडितले अदालतअघि नै प्रदर्शन गरेका हुन् ।

प्रदर्शनकारीले बचत रकम फिर्ता गर, हाम्रो रगत–पसिनाको कमाइ फिर्ता गर, सहकारी ठगी बन्द गर, दोषीलाई कारबाही गर, सागर केसीलाई पक्राउ गर, जीबी राईलाई पक्राउ गर लगायतका प्लेकार्ड बोकेर विरोध प्रदर्शन गरिरहेका छन् ।

सहकारीमा सर्वसाधारणले जम्मा गरेको रकम गोर्खा मिडिया नेटवर्कमा लगेर अपचलन गरेको आरोपमा रास्वपाका सभापति एवं गोर्खा मिडिया नेटवर्कका प्रबन्ध निर्देशक रवि लामिछानेलाई काठमाडौंबाट पक्राउ गरी पोखरा लगी अनुसन्धान भइरहेको छ ।

सुप्रिम सहकारीबाट लामिछानेका नाममा २ करोड र जोशीका नाममा २ करोड ५० लाखसहित १४ करोड २९ लाख रुपैयाँ रकम गोर्खा मिडिया नेटवर्कमा गएको छानबिनमा देखिएको छ । प्रहरीले यसअघि गरेको छानबिनमा जोशी, जीवी राई, सुप्रिमका अध्यक्ष ओमप्रकाश गुरुङसहित २८ जना विरुद्ध जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो । तीमध्ये गुरुङ पुर्पक्षका लागि कारागार चलान भएका छन् । सहकारीका पूर्वसचिव दीपेश पुनसहित ६ जना धरौटीमा छुटेका छन् । पूर्वअध्यक्ष जीवी राईसहित अन्य व्यक्ति फरार छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार