नेसपाको महाधिवेशन २५ माघदेखि, नाम र झण्डा पनि फेरियो

नेपाल समाजवादी पार्टी (नेसपा)ले आगामी माघ २५,२६ र २७ गते काठमाडौंमा महाधिवेशन गर्ने भएको छ ।

पोखरामा आज समापन भएको प्रथम विधान अधिवेशनबाट उक्त मितिमा पार्टीको महाधिवेशन गर्ने सचिवालय बैठकको निर्णय पारित गरेको हो । आजै सचिवालय बैठक बसेको थियो । महाधिवेशनमा प्रत्येक पार्टी सदस्यले प्रत्यक्ष मतदान गर्ने व्यवस्था गरिएको छ ।

विधान अधिवेशनबाट पार्टीको नाम र झण्डा पनि परिवर्तन गरिएको छ । विधान प्रतिनिधिहरुबाट सर्वसम्मत रुपमा नाम र झण्डा पारित गरिएको हो । पार्टीको नाम नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) र संक्षिप्तमा नेसपा नयाँ शक्ति भएको छ ।

अधिवेशनले पार्टीको केन्द्रीय समिति सदस्य ९९ जना, ११ सदस्यीय पदाधिकारी हुने व्यवस्था पारित गरेको छ । जसमा १ अध्यक्ष, ५ उपाध्यक्ष (१ महिला, १ जनजाति, १ मधेसी, १ खसाआर्य, १ दलित), १ महासचिव, ३ सचिव, १ कोषाध्यक्ष हुनेछन् । निर्वाचन समिति ३३ सदस्यीय हुनेछन् । सबै तहमा प्रत्यक्ष निर्वाचन प्रणालीबाट नेतृत्व चयनको व्यवस्था पारित गरिएको छ ।

पार्टीमा युवाको नेतृत्व स्थानीय तहमा ४० प्रतिशत, प्रदेशमा ३० र केन्द्रमा २० प्रतिशतको व्यवस्था गरिएको छ । त्यस्तै सबै समितिमा महिलापदाधिकारी ३३ प्रतिशतको व्यवस्था पनि विधानमा गरिएको छ ।

विधान अधिवेशनमा पार्टीको आयव्यय प्रस्तुत गरिएको छ । आय ७ लाख ५० हजार र व्यय ९ लाख ७७ हजार १६० रुपैयाँ रहेको छ ।
यससँगै नेसपाको प्रथम विधान अधिवेशन सम्पन्न भएको छ । अधिवेशनमा ७१ जिल्ला र विदेश (६ देश)बाट कूल ५०० प्रतिनिधि उपस्थित थिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार