राष्ट्रिय मुद्दामा एक ढिक्का भएर प्रस्तुत हुने सत्ता गठबन्धनको निर्णय

सरकारलाई समर्थन गरिरहेका राजनीतिक दलहरूको आजको बैठकमा सरकारको सय दिनको प्रगति, समसामयिक घटनाक्रम र राष्ट्रिय हित एवं मुद्दामा समान धारणाका साथ एक ढिक्का भएर अघि बढ्ने विषयमा छलफल भएको छ ।

प्रधानमन्त्री निवास, बालुवाटारमा आज भएको बैठकमा लोकतान्त्रिक पद्धति, विधिको शासन, सुशासन र जनतामा सेवा प्रवाहका विषयमा सरकार स्पष्ट भई दृढताका साथ काम गरिरहेको अवगत गराइएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

सचिवालयका अनुसार, प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको सय दिन पुगेको अवसरमा आज दिउँसो ३ बजे सिंहदरबारबाट समग्र कामको उपलब्धिबारे सम्बोधन गर्ने भएकाले त्यसबारे पनि बैठकमा गठबन्धन साझेदारलाई जानकारी गराइएको छ । बैठकमा गृहमन्त्री रमेश लेखकले सहकारी अनियमिततासम्बन्धी संसदीय छानबिन समितिबाट सर्वसम्मतरूपमा तयार गरेको प्रतिवेदन कार्यान्वयनका क्रममा पूर्वउपप्रधानमन्त्री रवि लामिछानेसमेतलाई अनुसन्धानका क्रममा पक्राउ गरिएको जानकारी गराए ।

उनले फौजदारी घटनामा न्यायिक छानबिन भइरहेका बेला अलादल र सरकारलाई दबाब दिने हिसाबले भइरहेका विरोध प्रदर्शन उचित नभएको बताए ।

यस्ता घटनाका विषयमा सत्तामा रहेका दलहरूले आफ्नाआफ्ना तर्फबाट वक्तव्य जारी गरी न्यायिक छानबिन र लोकतान्त्रिक पद्धतिलाई निष्पक्षरूपमा अगाडि बढाउन आग्रह गर्ने समझदारी बैठकमा भएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार