पैसा नदिए विस्फोट गराउने भन्दै म्यानेजरलाई मोबाइलमा म्यासेज गर्ने कामदार पक्राउ

आफ्नै म्यानेजरको मोबाइलमा म्यासेज पठाएर पैसा नदिए कम्पनीमा बम विस्फोट गराइदिने धम्की दिएको आरोपमा एक जना पक्राउ परेका छन् । बम बिष्फोट गरी ध्वस्त बनाइदिने धम्की दिँदै रकम माग गरेपछि सिन्धुपाल्चोक ज्यामिरे गाविस-८ घर भई हाल काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका-८ बस्ने ३२ वर्षीय पदम भन्ने आकाश तामाङलाई प्रहरीले पक्राउ गरेको हो ।

उनले चिनीयाँ नागरिकले सञ्चालन गरेको सिसुवान याङ टेक्स्टाइल कम्पनीको म्यानेजरको मोबाइलमा एसएमएस गरी रकम माग गरेको, रकम नदिएमा कम्पनीमा बम बिष्फोट गरी ध्वस्त बनाई दिने भनी धम्की दिएको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न तामाङलाई सोही कम्पनीबाट पक्राउ गरेको प्रहरीको भनाई छ ।

प्रारम्भिक अनुसन्धानको क्रममा असोज २१ गते राति उक्त कम्पनीमा लेवरको काम गर्ने तामाङले अपरिचित मोबाइल नम्बरबाट म्यानेजरको मोबाइलमा १ लाख ५० हजार देखि २ लाख रूपैयाँ सम्म सहयोग गर्नु पर्‍यो सो रकम नदिएमा बम बिष्फोट गराई क्षति गराई दिने भन्ने व्यहोराको एसएमएस गरेको खुल्न आएको हो ।

उनीमाथि जिल्ला प्रहरी परिसर काठमाडौं भद्रकाली अनुसन्धान भइरहेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार