बंगलादेशमा राष्ट्रपतिविरुद्ध किन भइरहेको छ प्रदर्शन ?

बंगलादेशमा राष्ट्रपति मोहम्मद शहाबुद्दिनको राजीनामा माग गर्दै प्रदर्शन सुरु भएको छ ।

मंगलबार सयौं प्रदर्शनकारीले राष्ट्रपति भवन बंगभवनमा आक्रमण गर्ने प्रयास गरे । तर सेनाले ब्यारिकेड लगाएर उनीहरूको बाटो अवरुद्ध गरेको थियो ।

बंगलादेशको अखबार द डेली स्टारका अनुसार राष्ट्रपति मोहम्मदले निर्वासित प्रधानमन्त्री शेख हसिनाको राजीनामाबारे विवादास्पद अभिव्यक्ति दिएपछि त्यहाँ युवाहरूले प्रदर्शन गरेका हुन् ।

गत साता बंगला दैनिक ‘मनब जमीन’सँगको एक अन्तर्वार्तामा शाहबुद्दीनले विद्यार्थीको नेतृत्वमा भएको जनप्रदर्शनको बीचमा हसिनाले अगस्ट ५ मा देश छोड्नुअघि राजीनामा दिएको कुनै दस्तावेजी प्रमाण नभएको बताएका थिए । ‘हसिनाले बुझाएको राजीनामा पत्र धेरै खोजेँ । तर भेटिनँ, मलाई लाग्छ उहाँले राजीनामा दिनका लागि समय नै पाउनुभएन,’ ‍शहाबुद्दिनले भनेका छन् ।

प्रदर्शनकारीहरूले शाहबुद्दीनलाई ‘झूटको पुलिन्दा’ भएको आरोप लगाउँदै राष्ट्रपतिको भनाइले आफ्नै पदीय शपथको उल्लंघन भएको दाबी गरेका छन् । हसिनालाई सत्ताच्यूत गर्नमा मुख्य भूमिका खेलेको भेदभावविरोधी विद्यार्थी आन्दोलनले केन्द्रीय सहिद मिनारमा र्‍याली निकाल्दै शाहबुद्दीनको राजीनामा माग गरेको छ । उनीहरूले सात दिनभित्र राष्ट्रपतिलाई हटाइनुपर्ने र बंगलादेशको १९७२ को संविधान खारेजीलगायतका पाँचबुँदे माग अघि सारेका छन् ।

ढाकाका अखबारहरुका अनुसार, मोहम्मद युनुस नेतृत्वको अन्तरिम सरकारले राष्ट्रपति निवास वरिपरि कडा सुरक्षा व्यवस्था लागू गरेको छ । मंगलबारदेखि राष्ट्रपति निवास वरिपरि ब्यारिकेडहरु राखिएका छन् भने पानीको फोहोरासहित झडप नियन्त्रणमा लिन एपीसीहरु पनि निकालिएका छन् ।

शाहबुद्दीनले यसअघिको सम्बोधनमा हसिनाले राजीनामा बुझाइसकेकी र आफूले पाएको बताएका थिए । ‘तपाईंलाई थाहा छ, प्रधानमन्त्री शेख हसिनाले राष्ट्रपतिलाई आफ्नो राजीनामा पत्र बुझाएकी छिन् र मैले पाएको छु,’ अगस्ट ५ को टेलिभिजन सम्बोधनमा राष्ट्रपति शाहबुद्दीनले भनेका थिए । तर उनले सेना प्रमुख जनरल वकेर उज जमान लगायतका सैन्य नेताहरुसँगको भेटमा आफ्नो कुरा फेरेका हुन् । शाहबुद्दीनले राजीनामा पत्र पाप्त भएको अस्वीकार गरे भने उनले झूटा आरोपहरूको सामना गर्नुपर्ने नजरुलको भनाइ छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार