कोशीमा मनसुनजन्य विपद्‌बाट भत्किएका संरचना बनाउन ४० करोड बजेट छुट्याइयो

कोशी प्रदेशमा मनसुनजन्य बाढीपहिरोबाट भत्किएका संरचनाको पुनर्निर्माण गर्न सरकारले ४० करोड बजेट छुट्याएको छ । विपद् कोष खडा गरी कोशी सरकारले आर्थिक मामिला तथा योजना मन्त्रालयको विविध शीर्षकको बजेट कोषमा राख्ने प्रदेश मन्त्री परिषद्ले निर्णय गरेको हो ।

विपद्‌बाट भत्किएका पुल, सडक तथा अन्य संरचना मर्मत तथा पुनर्निर्माण कोषका लागि छुट्टै बजेट नभएकोले चालु बजेटबाट १० प्रतिशत कटौती गरी व्यवस्थापन गर्ने र त्यो कोषमा मन्त्रीमण्डलमा रहेका सदस्यहरूको १० दिनको तलब जम्मा गर्ने निर्णय भएको सरकारका प्रवक्ता आन्तरिक मामिला तथा कानुनमन्त्री लीला वल्लभ अधिकारीले जानकारी दिए ।

उनले भने, “प्रदेशसभा सदस्यहरूलाई समेत सहयोग गर्न सम्बन्धित संसदीय दलमार्फत आह्वान गर्ने, नागरिक समाज, संघ संस्थाहरू र नागरिकलाई समेत आग्रह गर्ने सरकारले तयारी गरेको छ ।” तत्कालै काम अघि बढाउन तीन महिनामा गर्ने र दीर्घकालीन रूपमा गर्नेको पुनर्निर्माणको काम वर्गीकरण गरिने बताए ।

मन्त्रीपरिषद्ले प्रदेश सरकारको न्यूनतम साझा कार्यक्रम उच्च प्राथमिकता साथ कार्यान्वयन गर्ने र प्रदेश सिँचाइ नियमावली २०८१ लाई स्वीकृत गर्ने निर्णय समेत गरेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार