एनपीएलका लागि लुम्बिनी लायन्सको मुख्य प्रशिक्षकमा फाडनिस नियुक्त 

नेपाल प्रिमियर लिग (एनपीएल) का लागि फ्रेन्चाइज टिम लुम्बिनी लायन्सको मुख्य प्रशिक्षकमा नन्दन फाडनिस नियुक्त भएका छन् ।

लुम्बिनी लायन्सले बिहीबार विज्ञप्ति जारी गरी एनपीएलका लागि ‍टिमको मुख्य प्रशिक्षकमा फाडनिसलाई नियुक्त गरेको जानकारी दिएको हो । गोवा क्रिकेट संघमा खेलाडीहरूलाई प्रशिक्षण गरेका फाडनिसले यसअघि नेपाली राष्ट्रिय टिमलाई पनि प्रशिक्षण गरेका थिए ।

फाडनिसले लुम्बिनी लायन्समा प्रमुख प्रशिक्षकका रूपमा समावेशन हुँदा पाउँदा आफू उत्साहित भएको बताएका छन् । ‘लुम्बिनी लायन्स क्लबमा हेड कोचका रूपमा समावेश हुन पाउँदा म अत्यन्तै उत्साहित छु । रोहित पौडेलको कुशल नेतृत्वमा लुम्बिनी लायन्सले उत्कृष्ट प्रदर्शन गर्दै विजय हासिल गर्नेछ भन्ने कुरामा विश्वस्त छु,’ उनले भनेका छन् । 

लुम्बिनी लायन्सका मालिक इश्वर जिसीले फाडनिसलाई प्रमुख प्रशिक्षकका रूपमा नियुक्त गर्न पाउँदा उत्साहित भएको बताएका छन् । उनले भारतको राष्ट्रिय क्रिकेट एकेडेमीमा पनि प्रशिक्षण गरेको फाडनिसको अनुभवले विजय हासिल गर्न राम्रो मार्गदर्शन प्राप्त हुने विश्वास व्यक्त गरेका छन् । 

लुम्बिनी लायन्सको मार्की खेलाडी नेपाली राष्ट्रिय टिमका कप्तान रोहितकुमार पौडेल हुन् । 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार