रविलाई अब तिहारपछि मात्र अदालत लगिने, ७ दिन थपिए पनि १२ दिन बस्नुपर्ने

सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्वउपप्रधान एवं गृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि अनुसन्धानका लागि थप ७ दिन म्याद थप भएको छ ।

गत शुक्रबार (कात्तिक २ गते) पक्राउ परेका लामिछानेलाई आइतबार अदालतले पक्राउ परेकै दिनदेखि लागु हुने गरी पहिलोपटक ६ दिनको म्याद दिएको थियो । अनुसन्धान नसकिएको र प्रमाण जुटाउन बाँकी रहेपछि अदालतले दोस्रोपटक सात दिनको म्याद थप गरेको हो ।

न्यायाशीध चन्द्रकान्त पौडेलको इजलासले आज लामिछानेमाथि अनुसन्धानका लागि प्रहरीलाई थप ७ दिनको समय दिएको छ । ७ दिनको समय थपिएसँगै लामिछानेको तिहार कास्की प्रहरीको हिरासतमै बित्ने भएको छ ।

आज (८ गते) बाट सातदिन कात्तिक १४ गतेसम्म हुन्छ । १५ गते लामिछानेलाई पुनस् अदालतमा पेस गर्नु पर्ने भए पनि सो दिनबाट तिहारको सरकारी बिदा सुरु हुन्छ । यस्तो अवस्थामा सरकारी बिदा सकिएपछि कार्यालय खुलेको पहिलो दिन प्रहरीले आरोपीलाई अदालतमा उपस्थित गराउने गर्छ ।

अदालतमा फेरि म्याद थप गर्नेरनगर्ने भन्नेबारे बहस हुने छ । त्यतिबेला म्याद थपियो भने तिहार बिदासमेत गणना हुन्छ । त्यसो त, उनले बन्दी प्रत्यक्षीकरणको रिट निवेदन दायर गर्न सक्छन् । बिहीबार सहकारीकै मुद्दामा रविका तत्कालीन व्यवसायिक साझेदार छविलाल जोशीलाई समेत अदालतले अनुसन्धानका लागि सात दिन म्याद थपेको छ ।

जोशीले सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेका थिए । सार्वजनिक बिदामा समेत सर्वोच्चले बन्दी प्रत्यक्षीकरणको रिट हेर्छ । तर, जोशीले दायर गरेको रिट सर्वोच्चले खारेज गरिदिएको थियो ।

पोखराको सूर्यदर्शन सहकारीको ६५ करोड रुपैयाँ गोर्खा मिडियामार्फत अपचलन गरेको अभियोगमा उनलाई सहकारी ठगी तथा संगठित अपराधको मुद्दा लगाइएको छ । उनको दल राष्ट्रिय स्वतन्त्र पार्टीले भने सरकारले रविमाथि राजनीतिक प्रतिशोध साँधेर पक्राउ गरिएको आरोप लगाउँदै आएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार