काठमाडौं। साफ वुमन्स च्याम्पियनसीपमा नेपालले श्रीलंकामाथि शानदार जित निकालेको छ । यससँगै नेपाल समूह विजेता बनेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा नेपालले श्रीलंकालाई ६–० ले हराएको हो । अघिल्लो खेलमा भुटानले माल्दिभ्सलाई १३–० ले हराएकाले नेपाललाई कम्तिमा ६–० को जित चाहिएको थियो ।
नेपालका लागि रेखा पौडेलले दुई तथा सविता रानामगर, सावित्रा भण्डारी, अमिका कार्की र रश्मी कुमारी घिसिङले समान एक गोल गरे। यससँगै अब सेमिफाइनलमा नेपाल र भारत भिड्ने भएका छन्। समूह चरणमा नेपाल र भारत तथा साविक विजेता बंगलादेश र भुटान खेल्ने भएका छन्। बंगलादेश र भुटान पहिलो सेमिफाइनलमा खेल्नेछन्। पहिलो सेमिफाइनल खेल दिउँसो साढे १ बजे हुनेछ।
दोस्रो सेमिफाइनलमा नेपाल र भारत खेल्ने भएका हुन्। सो खेल आइतबार साँझ साढे ६ बजे हुनेछ। दुवै सेमिफाइनल खेल एकैदिन हुनेछ। अघिल्लो संस्करण पनि यी चार टोली नै सेमिफाइनलमा भिडेका थिए। आजको खेलको आठौँ मिनेटमा साम्बाको पासमा सविता रानामगरको गोलमा नेपालले सुरुवाती अग्रता बनाएको हो। १२ औँ मिनेटमा सावित्रा भण्डारीले डिबक्स बाहिरबाट गरेको प्रहार सिधै गोलमा परिणत भयो।
लगत्तै १३ औँ मिनेटमा अमिसा कार्कीको पासमा रेखा पौडेलको गोलमा नेपालले ३–० को अग्रता बनाएको छ। १९ औँ मिनेटमा अमिसा कार्कीको प्रहार आकाशियो। ३६ औँ मिनेटमा साम्बाको प्रहारलाई रेखा पौडेलले फ्लिक गरेपछि गोलमा परिणत भयो। टोलीलाई ४–० को अग्रता दिलाउने क्रममा रेखाले व्यक्तिगत दोस्रो गोल गरिन्।
४२ औँ मिनेटमा साम्बाको प्रहार क्रसबारको माथिबाट बाहिरियो। ४७ औँ मिनेटमा सविता कार्कीको क्रसमा अमिसा कार्कीको हेडर गोल गर्दै नेपाललाई ५–० को अवस्थामा ल्याईन्। ५४ औँ मिनेटमा रश्मी कुमारी घिसिङको प्रहर क्रसबार माथिबाट बाहिरियो। ५७ औँ मिनेटमा साम्बाको प्रहार सिधै गोलरक्षकको हातमा पुग्यो।
८३ औँ मिनेटमा अनिता बस्नेतको कर्नरमा साम्बाको हेडर गोलरक्षकले पन्च गर्दै जोगाईन्। त्यसकै रिवाउण्डमा रेखाको गोल गरेपनि रेफ्रिले अफसाइड दिए। इन्ज्युरी समयमा अनिता बस्नेतको कर्नरमा रश्मी कुमारी घिसिङको गोलमा नेपालले ६–० को अग्रता बनायो। नेपालको जितले भुटान समूह उपविजेता बन्दै सेमिफाइनल पुगेको छ।