डेडिकेटेड ट्रंक लाइन विवाद: कुलमानले काटिदिए ३४ वटा उद्योगको बिजुली

नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड तथा ट्रंकलाइन सुविधाबाट विद्युत् उपभोग गरेर लामो समयदेखि महसुल नतिरेका ३४ वटा उद्योगको लाइन गएराति (बिहीबार) काटिदिएको छ ।

पटकपटक सूचना दिएर पर्याप्त म्याद दिँदा पनि महसुल नतिरेपछि लाइन काट्न बाध्य भएको प्राधिकरणले जनाएको छ । प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले बिहीबार अबेरसम्म पनि किस्ताबन्दीको सुविधा लिएर रकम तिर्न उद्योगीहरूलाई सुझाव दिएका थिए ।

गत असोज २४ गते प्राधिकरणले डेडिकेटेड तथा ट्रंकलाइनबाट विद्युत् उपभोग गरेका ४९ उद्योगहरूको विवरण सार्वजनिक गर्दै वक्यौता तिर्न कात्तिक ८ गतेसम्मको समयसीमा दिएको थियो ।

यो अवधिमा ८ उद्योगले भने वक्यौता तिरेको प्राधिकरणका प्रवक्ता चन्दन कुमार घोषले जानकारी दिए । उनका अनुसार ७ वटा उद्योगले भने रकम नतिर्नका लागि यसबीचमा अदालतको अन्तरिम आदेश लिएका छन् । पछिल्लो सूचना प्रकाशित गरेपछि उनीहरु त्यसविरुद्ध अदालत गई अन्तरिम आदेश लिएको पाइएको छ ।

“हामीले दिएको समयसीमामा आठवटा उद्योगबाट वक्यौता तिरियो । अन्यले पनि तिर्ने भनिरहेका छन् । तर, केही प्राविधिक कारणले ती उद्योगले वक्यौता नतिरेपछि हामी लाइन काट्न बाध्य भएका छौँ,” उनले भने, “अहिलेसम्म लाइन कुन–कुनको काटियो भनेर मसम्म तथ्यांक आइसकेको छैन । तर, बक्यौता नतिर्ने ३४ वटाको लाइन काटिएको हो ।”

यसअघि पनि बक्यौता नतिरेकोभन्दै प्राधिकरणले उद्योगहरुमा लाइन काटिदिएको थियो । तर प्रधानमन्त्री केपी शर्मा ओलीले उद्योगहरुमा लाइन जोड्न निर्देशन दिएपछि प्राधिकरणले गत साउन ८ गते तीन महिनाको समय दिएको थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार