२५ लाख मूल्य बराबरको चाँदीसहित दुईजना पक्राउ

बारामा प्रहरीले ठूलो परिमाणमा चाँदीका मूर्ति र अन्य तयारी गहनासहित दुई जना पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बाराको प्रसौनी गाँउपालिका वडा नम्बर ६ प्रस्टोकाका ३३ वर्षीय सन्तोष साह सोनार र बाराकै जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ८ गमरगावाका २७ वर्षीय सुरेश महतो रहेका छन् ।

उनीहरूको साथबाट २५ लाख रुपैयाँ मुल्य बराबरको चाँदीको मूर्ति र अन्य तयारी गहना गरी १४ किलो चाँदी बरामद गरिएको बाराका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिए ।

सापकोटाका अनुसार, पथलैयाबाट हेटौडाँतर्फ दुईवटा छुट्टाछुट्टै मोटरसाइकलमा जाँदै गरेका उनीहरूलाई बाराको अमलेखगन्जमा इलाका प्रहरी कार्यालय अमलेखगन्जबाट बरिष्ठ प्रहरी नायब निरीक्षक त्रिभुवन साह नेतृत्वमा खटिएको टोलीले शुक्रबार बिहान रोकेर चेकजाँच गरेको थियो ।

सो क्रममा सोनारलाई ना ५२ प २५८४ नम्बरको मोटरसाइकलमा र महतोलाई ना ५५ प ३९३२ नम्बरको मोटरसाइकलमा सवार रहेका बेला चाँदीसहित पक्राउ गरिएको हो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार