उठाएको चन्दा हिनामिना गरेको भन्‍दै हत्या

कपिलवस्तुमा नेकपा (माओवादी) महावीर समूहका नेताको हत्या भएको छ । कात्तिक ४ गते बेलुका पौने ७ बजे कपिलवस्तुको विजयनगर गाउँपालिका–२ खडैचा भैसीघाटमा एक पुरुषको शव फेला परेको थियो ।

उक्त शव कपिलवस्तु नगरपालिका १० तेनुवाका ४५ वर्षीय दिनेश भन्ने जय प्रकाश यादवको भएको खुलेको छ । यादव नेकपा (माओवादी) महावीर समूहका कपिलवस्तुको विजयनगर गाउँपालिकाको इन्चार्ज भएको खुलेको छ । पार्टीमा उनी परिवर्तन उपनामले चिनिन्थे ।

उनको हत्या आरोपमा सोही पार्टीको जिल्ला सेक्रेटरी बताउने ४७ वर्षीय रमेश श्रेष्ठ र जिल्ला महिला विभाग प्रमुख ४७ वर्षीया मनकला थारू पक्राउ परेका हुन् । थारू २०८० फागुनदेखि यस समूहमा लागेकी थिइन् ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख एवं एसपी निरन्जन भट्टका अनुसार यस घटनाका मुख्य योजनाकार रमेश श्रेष्ठ हुन् । यस्तै मनकला पनि यस घटनामा प्रत्यक्ष रूपमै जोडिएका छन् ।

प्रहरीको प्रारम्भिक सोधपुछमा उनीहरू माओवादीको महाविर समूहमा संलग्न रहेको पाइएको छ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको समूहबाट अलग भएर महाविर समूह बनेको प्रहरीको भनाइ छ । उनीहरू तीनै जनाले ‘केन्द्रीय निर्देशन’ भन्दै कपिलवस्तुमा चन्दा उठाउने काम गर्दै आएका थिए ।

कपिलवस्तुमा यो समूहले १० वटा इलाका विभाजन गरेको थियो । जसमध्ये १० नम्बर इलाकाको क्षेत्रीय इन्चार्जको रूपमा दिनेशले जिम्मा पाएका थिए । अवैध रूपमा चन्दा असुली गर्नका लागि खटाइएका उनले चन्दा असुली त गरे तर उक्त रकम हिनामिना गरी पार्टीलाई हिसाब किताब नै बुझाउन इन्कार गरेको बयानका क्रममा रमेशले भनेका छन् ।

कात्तिक २ गते रमेश, गीतासहित अन्दाजी ९/१० जना घटनास्थलमा भेला भएका थिए । त्यहाँ उनीहरूले धारिलो हतियार चक्कु र सिमेन्टको खम्बाले दिनेशको टाउकोमा प्रहार गरी हत्या गरेको अनुसन्धानबाट खुलेको हो । हत्यापछि खोलामा लगेर बालुवाले शव पुरेर घटनास्थलबाट फरार भएका थिए ।

त्यसदिनदेखि मृतकको मोबाइल अफ गरिएको थियो । प्रहरीले उनीहरूबाट विस्फोटक पदार्थ निर्माण गर्ने विवरण उल्लेख गर्ने डायरी, महाराजगन्ज नगरपालिकाको वार्षिक कार्यक्रम तथा योजना पुस्तिका, सोवियत संघको कम्युनिष्ट पार्टीको इतिहास, आर्थिक सहयोग माग गर्न महाविरले हस्ताक्षर गरिएको पर्चा बरामद गरेको छ ।

उनीहरूबीच कति रकमको विषयमा कुरा नमिलेको भन्ने खुलिसकेको छैन । यसबारे अनुसन्धानबाट थप खुल्ने एसपी भट्टले बताए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार