रास्वपामा दुई उपसभापतिलाई बेग्लाबेग्लै जिम्मेवारी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले दुई उपसभापतिलाई बेग्लाबेग्लै जिम्मेवारी दिइएको छ ।

शनिबारको केन्द्रीय समिति बैठकले उपसभापतिद्वय डोलप्रसाद अर्याल (डिपी) र स्वर्णिम वाग्लेलाई कामको जिम्मेवारी तोकेको हो ।

कार्यवाहक प्रवक्ता मनिष झाले जारी गरेको विज्ञप्तिअनुसार आन्दोलन सञ्चालन गर्न उपसभापति अर्यालको नेतृत्वमा सात प्रदेश सभापतिहरू रहने आन्दोलन सञ्चालन मूल समिति गठन गरिएको छ ।

सभापति रवि लामिछानेलाई राजनीतिक प्रतिशोधका कारण पक्राउ गरिएको भन्दै रास्वपाले आन्दोलनलाई निरन्तरता दिने बताएको जनाएको छ । 

यस्तै अर्का उपसभापति वाग्लेलाई राजनीतिक नागरिक संवादको जिम्मेवारी दिइएको छ । आवश्यक उपसमितिहरू गठनको अख्तियारी पनि वाग्ले संयोजकत्वको समितिलाई केन्द्रीय समितिले अधिकार दिएको छ ।

रास्वपा सभापति रवि लामिछाने सहकारी ठगी र संगठित अपराध कसुरमा प्रहरी हिरासतमा छन् । उनलाई प्रहरीले गत कात्तिक २ गते पक्राउ गरेर पोखरा लगेको थियो । सभापति लामिछानेले कार्यवाहक सभापतिको जिम्मा कसैलाई पनि तोकेका छैनन् ।

सभापति लामिछाने पक्राउपछि रास्वपाले पोखराकेन्द्रित आन्दोलन गर्दै आएको छ भने काठमाडौंलगायत ठाउँमा पनि प्रदर्शन भएका छन् । 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार