माओवादीलाई प्रधानमन्त्री ओलीको जवाफ : हतियार बिसाउन लगाउन चाहीँ हामीले जानेका छौं

प्रधानमन्त्री केपी शर्मा ओलीले हतियार बिसाएकोमात्रै हो चलाउन बिर्सिएको छैन भनेर धम्की नदिन माओवादीलाई चेतावनी दिएका छन् । आज (आइतबार) काठमाडौंमा आयोजित एनआरएनए सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

हिजोमात्रै काठमाडौंमा आयोजित माओवादीको खबरदारीसभामा नेता रामेश्वर राय यादवले आफूहरुले हतियार बिसाएको मात्रै हो चलाउन बिर्सिएको छैन भनेर भाषण गरेका थिए । त्यसको जवाफमा प्रधानमन्त्री ओलीले यस्तो टिप्पणी गरेका हुन् ।

उनले भने, ‘हिजो एकजना उफ्रि उफ्रिकन भाषण गर्दै थिए, हिजोमात्रै मैले देखेको थिएँ । हतियार बिसाएको मात्रै हो, भ्रम नरहोस चलाउन बिर्सिएको छैन भनेर भाषण गर्दै थिए । त्यस्तै त्यस्तै त हामी हुनु भएन नि, धम्क्याएका भरमा खाने ? हतियार कसरी बिसाउन लगाउनुपर्छ भन्ने तरिका पनि हामीलाई थाहा छ भनौं । हामी हतियार चलाउन त चलाउँदैनौं तर बिसाउन चाहीँ लगाउन जानेका छौं ।’

ओलीले विकासका लागि पूर्वाधार तयार भइसकेकाले एकजुट भएर काम गरेमा नेपालको विकास सम्भव हुने बताए । ‘नेपालमा विकासका लागि बाटाघाटा र आवश्यक पूर्वाधार बनेका छन् । अहिले दुर्गम भन्ने कुनै जिल्ला र भू–भाग छैन । मिलेर काम गरेमा मुलुकलाई समृद्ध बनाउन सकिन्छ,’ ओलीले भने । 

ओलीले गैरआवासीय नेपाली सघंको छविलाई कायम गरी संगठनलाई एकताबद्ध राख्न र ‘राजनीतिक टग अफ वार’ नगर्न आग्रह गरे । सरकारको तर्फबाट सघंलाई कुनै हस्तक्षेप नहुने भन्दै स्वतन्त्र रूपमा काम गर्न आग्रह गरे । ‘म अहिले प्रधानमन्त्री छु, म देशको प्रधानमन्त्री हो । एमालेको मात्रै प्रधानमन्त्री होइन । राष्ट्रपति पनि त्यही हो, राष्ट्रपति दल विशेषको हुँदैन, राष्ट्रको प्रमुख हुन्छ । सभामुख, प्रधानन्यायाधीश सबै साझा पद हुन् । हामीले त्यस हैसियतले काम गर्ने हो,’ उनले भने ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार