कतै वर्षा, कतै हिमपात, भोलिदेखि मौसम सफा हुने

काठमाडौं । आज दिउँसो काठमाडौं उपत्यकासहित केही भेगमा हल्का पानी परेको छ। अहिले पनि मेघगर्जनसहित केही क्षेत्रमा छिटपुटदेखि हल्कापानी परिरहेको जल तथा मौसम विज्ञानको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। काठमाडौं, ललितपुर, पाल्पा र दाङका केही स्थानमा पानी परेको मौसमविद् गोविन्द झाले जानकारी दिए।

उनका अनुसार देशका केही भेगहरुमा आज असिना पानीसमेत परेको छ। आज बिहान कोशी र मधेश प्रदेशका केही स्थानमा पनि पानी परेको छ। देशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरूमा हल्का हिमपात भइरहेको छ।

पश्चिमी वायूको प्रभाव भोलिबाट भने कम हुने र सामान्यतया मौसम सफा रहने मौसविद् झाले बताए। अब विस्तारे प्रि मनसुन सुरु हुने भएकोले हल्का पानी पर्ने क्रम शुरु हुने उनले बताए।