इङ्लिस बेनकेन्स्टाईन चितवन राइनोजमा

चितवन राइनोजले इङ्लिस युवा अलराउन्डर ल्यूक मार्टिन बेनकेन्स्टाईनलाई अनुबन्ध गरेको छ । बेनकेन्स्टाईनले मंसिर १५ गतेदेखि काठमाडौंमा हुने नेपाल प्रिमियर लिग (एनपिएल)मा चितवनबाट खेल्ने छन् ।

उनी चितवन राइनोजमा भित्रिने दोस्रो विदेशी खेलाडी हुन् । यसअघि टोलीले दक्षिण अफ्रिकाका अनुभवी तीव्र गतिका बलर मर्रस्यंट डी ल्यांगलाई अनुबन्ध गरेको थियो। 

जनवरीमा भएको यू–१९ विश्वकपमा १९ वर्षीया बेनकेन्स्टाईनले इङ्गल्यान्डको उपकप्तानको जिम्मेवारी सम्हालेका थिए । ब्याटिङ र बलिङ दुवैमा निपुर्ण बेनकेन्स्टाईनले १७ वर्षको उमेरमा एसेक्सबाट काउन्टी क्रिकेटमा ६–४२ को कीर्तिमान राखेका थिए । त्यस्तै, सन् २०२२ मा ग्वादर शार्क्सलाई पाकिस्तान सुपर लिग (पिएसएल)को फाइनलमा पुर्‍याउन उनले ३७ बलमा ७१ रनको योगदान दिएका थिए ।

चितवन राइनोजको प्रतिनिधित्व गर्न आफू आतुर रहेको बेनकेन्स्टाईनले बताएका छन् । ‘नेपाली समर्थकले सिर्जना गर्न सक्ने वातावरण जुनसुकै खेलाडीलाई लोभ्याउने खालको छ  मेरो करियरको यो चरणमा सही किसिमको चुनौती हो । म चितवन राइनोजको प्रतिनिधित्व गर्न र आफ्नो प्रदर्शन देखाउन आतुर छु,’ उनले भनेका छन् ।

चितवन राइनोजका प्रबन्ध निर्देशक आयुष न्यौपानेले उनको आगमनले लिगमा उर्जा थपिने विश्वास व्यक्त गरे । ‘उनले जुन ऊर्जा ल्याउन सक्छन् र नेपाली समर्थकलाई मनोरञ्जन दिन सक्छन्, त्यसले नेपाल प्रिमियर लिगलाई थप उज्यालो बनाउनेछ,’ उनले भनेका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार