इजरायली आक्रमणलाई अतिरञ्जित र न्यूनीकरण गर्न नहुने इरानको भनाइ

इरानका सर्वोच्च नेता अयातुल्लाह अली खामेनीले इरानमाथि इजरायलले गरेको आक्रमणलाई अतिरञ्जित गर्न वा कम आँक्न नहुने बताएका छन् ।

“दुई दिन पहिले इजरायलले गरेको दुष्टतालाई अतिरञ्जित वा कम गर्नु हुँदैन,” उनले एक्समा एक पोस्टमा भनेका छन् । उनले थपे, इजरायलद्वारा गरिएको ‘घातक आक्रमण’ लाई ‘गलत अनुमान’ को रूपमा वर्णन गरिएको छ ।

तेहरानले इरान समर्थित लडाकू नेताहरू र रिभोल्युसनरी गार्डका कमान्डरको हत्याको बदलामा अक्टोबर १ मा गरेको क्षेप्यास्त्र आक्रमणको जवाफमा इजरायलले शनिबार इरानमा रहेका सैन्य स्थलहरूमा हवाई आक्रमण गरेको थियो ।

उक्त आक्रमणमा परी कम्तीमा चार इरानी सैनिकको मृत्यु भएको र यसले केही राडार प्रणालीमा ‘सीमित क्षति’ पु-याएको इरानले जनाएको छ ।

इजरायली सेनाले तेहरानलाई जवाफी आक्रमण गरेमा यसको परिणाम राम्रो नहुने चेतावनी दिएको छ । त्यसपछि इरानी अधिकारी र सञ्चारमाध्यमले इजरायली आक्रमणलाई कम महत्व दिँदै इरानको रक्षात्मक क्षमतालाई उजागर गरेका छन् तर प्रत्यक्ष प्रतिक्रियाको कुनै प्रतिज्ञा गरेका छैनन्।

खामेनीले आफ्नो पोस्टमा इजरायलले इरान र इरानी युवाको शक्ति, इच्छाशक्ति र पहललाई बुझ्नुपर्ने बताएका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार