सहकारी ठगी आरोपमा प्रदेश सांसदका छोरा पक्राउ

सहकारी ठगी आरोपमा कोशी प्रदेश सांसदका छोरा सुमन खनाल पक्राउ परेका छन् । सहकारी ठगीमा संलग्न भएको भन्दै प्रहरीले झापा शिवसताक्षी नगरपालिका–३ स्थित उन्नति बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष सुमन खनाललाई पक्राउ गरेको हो ।

बचतकर्ता र शेयर सदस्यको झन्डै डेढ करोड रुपैयाँ अनियमितता भएको सो सहकारीमा संस्थाका अध्यक्ष खनालले आफूखुसी सहकारीको एक करोड ३८ लाख ३६ हजार ७७० रुपैयाँ ठगी गरेको देखिएको छ । पक्राउ परेका खनाल झापा क्षेत्र नम्बर ४ (क) बाट निर्वाचित एमालेका प्रदेश सभा सदस्य राधाकृष्ण खनालका छोरा हुन् ।

कात्तिक ५ गते उनलाई घरबाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी कृष्णकुमार चन्दले बताए । प्रदेश रजिस्ट्रार कार्यालयमा उजुरी परेर त्यहाँबाट परिपत्र आएपछि सहकारीका अध्यक्ष खनाललाई पक्राउ गरिएको प्रहरी प्रवक्ताले बताए । पक्राउ गरिएका खनाल हाल जिल्ला प्रहरी कार्यालय झापाको हिरासतमा रहेका छन् । उनलाई अदालतबाट म्याद थपेर अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक चन्दले बताए ।

सहकारीमा रकम फिर्ता नपाएपछि पीडितले शिवसताक्षी नगरपालिकाको सहकारी शाखामा उजुरी दिएका थिए । सो उजुरीको विषयमा छानबिन गर्न नगरपालिकाले जिल्ला प्रहरी कार्यालयलाई सिफारिस गरेको थियो । भदौको तेस्रो साता खनालविरुद्ध उजुरी परेको थियो ।

उक्त सहकारीको स्थापना कालदेखिकै अध्यक्ष रहेका खनालले आर्थिक वर्ष २०७८/०७९ मा ७० हजार शेयर रकम हिनामिना गरेको शिवसत्ताक्षी नगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष भाष्कर न्यौपानेको नेतृत्वमा गठित समितिको प्रतिवेदनमा उल्लेख छ । सोही प्रतिवेदन अनुसार खनालले विनाभौचर नै बचतकर्ताको रकम दुई लाख ६ हजार ८६८ रुपैयाँ निकालेको पाइएको थियो ।

बचतकर्ताको ४२ लाख नगद हिनामिना गरेको, बचतकर्ता तथा सङ्कलकबाट हिसाबभन्दा बढी सङ्कलन भएको रकम जम्मा हुने उन्नति फन्ड एकाउन्टबाट आर्थिक वर्ष २०७९/८० मा दुई लाख ३६ हजार ८४० रुपैयाँ निकालेर अध्यक्ष आफैँले आफ्नो बचत खातामा जम्मा गरेको लगायतका विषय प्रतिवेदनमा उल्लेख छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार