राज्य व्यवस्था समितिको बैठकमा प्रधानमन्त्री ओली नजाने, गृहमन्त्री लेखकलाई पठाए

प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिको बैठक आज बस्दैछ । आज दिउँसो सवा १२ बजे बस्ने उक्त बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली सहभागी हुने भनिएपनि ओली अनुपस्थित हुने भएका छन् ।

बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, ऐन २०४८ लाई संशोधन गर्न बनेको विधेयकमाथि छलफल हुने कार्यसूची छ । उक्त बैठकमा ओली पनि जाने संसद् सचिवालयले जनाएको थियो । तर,अन्तिममा ओली जान नभ्याउने भएपछि गृहमन्त्री रमेश लेखक बैठकमा जाने भएका छन् ।

समितिले भ्रष्टाचार निवारण पहिलो संशोधन विधेयक टुंगो लगाउँदा अख्तियार विधेयकलाई सँगै टुंग्याउने गरी यो विधेयकमा छलफल गर्न लागेको हो । समितिले भ्रष्टाचार निवारण पहिलो संशोधन विधेयकमाथि छलफल गर्न यसअघि नै उपसमिति गठन गरिसकेको छ ।

हृदयराम थानीको संयोजकत्वको उपसमितिले नीतिगत भ्रष्टाचार, निजी क्षेत्रमा अख्तियारको क्षेत्राधिकारसम्बन्धी विवाद, अनुचित कार्य, बेनामी उजुरी र अख्तियारले मुद्दा दायर गर्ने समयसीमा लगायतमा सहमति खोज्न छलफल जारी राखेको छ । अख्तियारसम्बन्धी विधेयकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पदाधिकारी नियुक्तिदेखि उसको क्षेत्राधिकारसम्मका विषय समेटिएका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार