‘बेहुली फ्रम मेघौली’ ले ओटीटीबाट दुई दिनमै कमायो ४४ लाख

निश्चल बस्नेत र स्वस्तिमा खड्काको फिल्म ‘बेहुली फ्रम मेघौली’ले ओटीटीमाबाट दुई दिनमै ४४ लाख कमाएको छ । शुक्रबार ओटीटी प्लेटफर्म एमएसएस भिडिओमा स्ट्रिमिङ भएको यस फिल्मलाई ११ हजारपटक हेरिएको छ । जसबाट ४४ लाख कमाइ भएको हो ।

फिल्मकी निर्मात्री स्वस्तिमाले २ दिनमा ११ हजार प्लस स्ट्रिमिङ भएको भन्दै फेसबुकमा दर्शकलाई धन्यवाद दिएकी छन् । ४०० रुपैयाँ तिरेर यस फिल्मलाई ओटीटीमा हेर्न सकिन्छ । यस अर्थमा ११ हजार स्ट्रिमिङ भएबापत फिल्मले ४४ लाख कमाइसकेको छ । दर्शकबाट पनि फिल्मले राम्रो प्रतिक्रिया पाइरहेको छ ।

घटस्थापनाका अवसरमा असोज १७ गते रिलिज यस फिल्मलाई दर्शकले निकै मन पराएका थिए । पहिलो साताभर साढे तीन करोड कमाएको थियो। तर, दोस्रो साता तीन स्वदेशीसहित एक विदेशी फिल्म हुँदा पर्याप्त सो पाउन सकेन ।

यसपछि निश्चलले सामाजिक सञ्जालमा आफ्नो फिल्ममा अकुपेन्सी हुँदा पनि हिन्दी सिनेमा आएपछि हलवालाले सो घटाएको भन्दै असन्तुष्टि पोखे । साथै आफूले हलको विकल्प खोज्नुपर्ने अवस्था आएको बताएका थिए। त्यसपछि उनले फिल्मलाई हलबाट निकाले । यसपछि ओटीटीमा राखिएको हो ।

निश्चल र स्वस्तिमाको मुख्य भूमिका रहेको फिल्मका कार्यकारी निर्माता फिरोज खड्का र शंकर पाण्डे हुन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार