साइकलमा पाँच लाख बोकेर हिँडेका ४८ वर्षीय चौधरी प्रहरी नियन्त्रणमा

रौतहट प्रहरीले स्रोत नखुलेको रकमसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

जिल्लाको महादेवपट्टि स्थित अस्थायी प्रहरी पोस्टबाट खटिएको चेकिङ टोलीले पाँच लाख रुपैयाँसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको हो ।

नेपालबाट भारततर्फ साइकलमा जाँदै गरेका बिहार राज्यको मोतिहारी जिल्ला, ढाका थानाअन्तर्गत फुलवरिया गाउँका ४८ वर्षीय त्रिभुवन चौधरीलाई चेकजाँच गर्ने क्रममा स्रोत नखुलेको पाँच लाख नगद फेला परेको हो ।

प्रहरी टोलीले चौधरीको साइकलमा रहेको नाइलनको झोलामा लुकाई राखिएको नेपाली रुपैयाँ ५०० दरका पाँच लाख फेला पारेको थियो ।

रकमसहित पक्राउ परेका चौधरीसँग उक्त नगदको स्रोतसम्बन्धी आवश्यक कागजात माग गर्दा उनले कुनै प्रमाण पेश गर्न नसकेको प्रहरीको भनाइ छ ।

चौधरीलाई रकम र साइकलसहित नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार