एयर इण्डियाको जहाजमा शंकास्पद वस्तु भेटिएन

अज्ञात समूहले बम राखिएको भन्दै आएको सूचना गलत भएको विमानस्थल प्रहरीले जनाएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित प्रहरी प्रमुख एसएसपी डम्बरबहादुर विकका अनुसार, यात्रु, लगेज र जहाजको जाँच गर्दा कुनै पनि खतराजन्य वस्तु फेला परेन । ‘नेपाली सेना र नेपाल प्रहरीको विस्फोटक बस्तु डिस्पोजल टोलीले कुनै पनि खतराजन्य फेला पारेन,’एसएसपी विकले भने ।

सोमबार अपराह्न २ः४१ बजे अवतरण गरेको विमान फर्किने तयारीमा रहेका बेला बम रहेको भन्दै सूचना आएपछि प्रहरी र सेनाले जाँच थालेको थियो ।

यो विमानबाट ५५ नेपालीसहित १ सय ५८ जना यात्रु दिल्ली जाँदैछन् । बम राखिएको सूचना आएलगत्तै सुरक्षाकर्मीले सबै यात्रुलाई एकै ठाउँमा राखेर खानतलासी सुरु गरेको थियो । यो विमानमा दिल्लीबाट १ सय ३७ यात्रु आएका थिए । उनीहरु ओर्लेर गइसकेपछि सूचना आएकाले सुरक्षाकर्मीले दिल्ली जाँदै गरेका यात्रुलाई विमानबाट ओरालेर जहाज खाली गराई अन्तर्राष्ट्रिय प्रोटोकल अनुसार जहाज नियन्त्रणमा लिई बम रहे/नरहेको जाच गरेको थियो ।

६ दिनअघि पनि दिल्लीबाट काठमाडौं आएको भारतीय वायुसेवा कम्पनी भिस्तारा एयरवेजको जहाजमा बम राखिएको भन्दै हल्ला फैलिएको थियो । तर, जाँच गर्दा त्यस्तो कुनै शंकास्पद वस्तु भेटिएन ।

पछिल्लो समय भारतीय वायुसेवा कम्पनीहरुका विमानमा बम रहेको भन्दै पटकपटक गलत सूचना प्रवाह भइरहेको छ । यसले भारतको विमान सेवामै तनावको स्थिति सिर्जना गराएको छ ।

आन्तरिक र अन्तर्राष्ट्रिय दुवैमा उडानमा यस्तो थ्रेट आइरहेको भारतका सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् । अघिल्लो साताको शनिबार मात्र भारतमा एकैदिन ३० वटा धम्कीका सूचना बाहिर आएका थिए ।

यसरी बम राखेको भन्दै गलत सूचना राख्नुको कारण पत्ता लागेको छैन । यद्यपि, कतिपय सञ्चारमाध्यमले यस्ता धम्कीलाई खालिस्तानी अभियानसँग जोडेर हेरेका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार