२८ वर्ष भारतीय सेनामा काम गरेपछि निवृत्त भई कृपाश्वर घले गुरुङले सुनसरीको तरहरास्थित आफ्नो घर फर्किंदा अवकाशको जीवन कसरी बिताउने भन्ने योजना बनाएका थिएनन्। २१ वर्षअघि मलेसियाका साथीले नेपाल आउँदा ल्याइदिएको बिरुवाले यसरी फल दिन्छ भन्ने उनले सोच्नु पनि भएको थिएन।
ड्रागन फलको त्यही बिरुवाबाट अहिले उनी यसको व्यावसायिक खेतीमा क्रियाशील छन्। सुरुमा त उनलाई थाहा थिएन, यो फल यत्ति महङ्गो र स्वास्थ्यका लागि लाभदायी हुन्छ भनेर। अन्य फलको तुलनामा महँगोमा बिक्री हुने भएकाले पनि कृपाश्वर ड्रागनफ्रुटको खेतिमा लागे। त्यतिबेला स्थानीय बजारमा प्रतिकिलो एक हजार दुई सयमा बिक्री वितरण हुन्थ्यो। थाहा पाएपछि उनी निकै हौसिएका थिए।
अहिले उनलाई आफूले उत्पादन गरेको ड्रागन फलको बजारीकरणमा कुनै समस्या छैन। भाटभटेनी सुपरमार्केसँग समन्वय गरी बिक्री गर्ने गरेका छन्। केही वर्षअघि रामधुनी नगरपालिका–७ रानीपोखरीमा किनेको एक बिघा जग्गा त्यत्तिकै उपयोगविहीन नै थियो। त्यही जग्गामा दुई सयवटा ड्रागनको बिरुवा लगाएर खेती सुरु गर्ने निधो गरे।
सुरुमा त उनीलाई धेरैले गलत निर्णय गरेको भन्दै आलोचना पनि नगरेका होइनन् तर उहाँ आफ्नो योजनामा प्रस्ट थिए। त्यतिबेला पूर्वमा ड्रागनखेती गर्नेको सङ्ख्या थोरै मात्र थियो। कोहीकोहीले घरको छत र बारीमा दुई/चार बोट मात्रै लगाएका थिए।
अन्य फलफूल वर्षमा एकपटक मात्र उत्पादन गर्न सकिन्छ भने ड्रागन फल वर्षमा १० पटकसम्म फलाउन सकिन्छ। उनले भने, ‘राम्रो उत्पादनसँगै आम्दानी पनि राम्रो हुने गरेको छ। अहिले वार्षिक रु ५० लाख सजिलैले आम्दानी हुने गरेको छ भने खेतीमा मल, कर्मचारी खर्च सबैगरी वार्षिक रु १२ लाख जति खर्च हुने गरेको उनले बताए।
फलसँगै उनले बिरुवा बिक्री गरेर पनि राम्रो आम्दानी हुने गरेको उनले बताए। बिरुवा मात्र बेचेर उनले वर्षमा दुई लाख बढीको आम्दानी गर्दै आउनु भएको छ। पूर्वमा ड्रागनखेती गर्ने ८० प्रतिशतभन्दा बढी किसानले यहीँबाट बिरुवा खरिद गरेर लाने गरेको उनको भनाइ छ। कुनै समय भने बिरुवाको माग अत्यधिक भएकाले बिक्रीका लागि बिरुवा माग पूरा गर्न नसक्ने अवस्था हुने गरेको उनले सुनाउँछन्।
सुरुआती समयमा त उनले फलबाट भन्दा धेरै बिरुवा बिक्री गरेर आम्दानी गरेका थिए। ‘पहिले बिरुवा एक बोटको दुई सयदेखि चार सयसम्म बिक्री गर्ने गरेकामा अहिले भने प्रतिबिरुवा ५० मा बिक्री हुने गरेको छ।
फल भने खुद्रामा अहिले रु चारमा बिक्री गर्दै आउनुभएको छभने थोकमा रु तीन सय ५० मा बिक्री हुने गरेको उनले बताए। व्यावसायिक रुपमा ड्रागनखेती गर्न थालेपछि उहाँले तर्जुमा ड्राइगन फ्रुट कृषि फार्म नै दर्ता गर्नु भएको छ। उनको फार्ममा प्रत्यक्ष अप्रत्यक्ष धेरैले रोजगारी पनि पाएका छन्।
उनको देखासिकी गरी अहिले धेरै युवाले ड्रागनखेती गर्न थालेका छन्। सुनसरीको तरहरामा जन्मिनुभएका भारतीय पूर्वलाहुरे कृष्णकुमार घले १७ वर्ष भारतीय सेनामा बिताएपछि २०७४ सालमा निवृत्त भई नेपाल फर्किएका थिए।
उनले नेपाल फर्केपछि बाँकी समय किन त्यत्तिकै खेर फाल्ने भन्ने सोचले व्यवसाय गर्ने निधो गरे। सुरुमा उनले सुनसरीको रामधुनी नगरपालिका–७ रानीपोखरीमा कागतीखेती सुरु गरे, दुई वर्षजति कागतीखेतीमै बित्यो। पछि कागतीखेतीबाट भने जस्तो राम्रो आम्दानी हुन नसकेपछि पूरै एक विघा जग्गामा सुरु गर्नुभएको कागतीखेती सबै डोजर लगाएर सबै हटाए।
कागतीखेती त्यति आम्दानी नभएपछि नजिकै रहेको आफ्नै काका कृपाश्वर घलेको ड्रागन खेती देखेर त्यहीँबाट प्रेरित भएर ड्रागनखेती सुरु गरेको बताए। उनले २०७५ फागुनमा तमु कृष्ण बहुद्देश्यीय कृषि फार्म दर्ता गरेर एक बिघाको पूरै जमिनमा ड्रागनखेती सुरु गरेको बताए। कागतीखेतीको तुलनामा अहिले ड्रागनखेतीबाट राम्रो आम्दानी भइरहेको उनलेबताए।
वार्षिक ४० लाख बढी आम्दानी हुन्छ भने १० लाख जति खेतीमा मल, काम गर्ने कर्मचारीलाई सालरी सबै खाना पानी गरेर वार्षिक खर्च हुने गरेको उनले बताए। ड्रागनखेती सुरु गरेपछि आर्थिक रुपमा सबै व्यवस्थित हुँदै गयो, जब ड्रागनखेती सुरु गरे आफैलाई पनि राम्रो भएको छ भने ड्रागन व्यापार गर्ने किसान र व्यापारीका लागि पनि एउटा आकर्षक कृषि फार्मको केन्द्रका रुपमा विस्थापित भएको उनले बताए।
उत्पादन भएको फल बिक्रीका लागि समस्या छैन, पूर्वी पहाडी भेगका व्यापारीहरु ड्रागन खरिद गर्नका लागि फार्ममा पुग्ने गरेका छन् भने स्थानीय बजारका व्यापारीहरु पनि खरिदका लागि फार्ममै पुग्ने गरेको उनले बताए।
बिक्रीका लागि धेरैजसो इटहरी, धरान, विराटनगरमा मात्र नभई काठमाडौं, पोखरासम्म बिक्रीका लागि पठाउने गरेको बताए। यो फलफूल फुल्न सुरु गरेको ४५ दिनमा फल पाक्ने हुँदा वार्षिक रुपमा सजिलैसँग १६ देखि २० मेट्रिक टनसम्म उत्पादन हुने गरेको उनले बताए।
अहिले सुनसरीको रामधुनी नगरपालिका–७ मा मात्र १० घरधुरीभन्दा बढीले ड्रागनखेती गर्दै आएका छन्।
विदेशबाट फर्केका युवाहरुले पछिल्लो समय ड्रागनखेतीतर्फ आकर्षित भएका छन्। कतिपय विदेश पलायन हुन लागेका युवाहरुले पनि आफ्नै देशमा व्यवसाय गरे आम्दानी गर्न सकिने रहेछ भन्ने प्रेरणा उनीबाट लिएका छन्।