२७ सय नाघेर १४ अंकले घट्यो सेयर बजार

यो साताको अन्तिम कारोबार दिन बुधबार सेयर बजार १४.४३ अंक घटेको छ । सो अंकको गिरावटपछि नेप्से २६७७ मा कायम भएको छ ।

भोलि ९बिहीबार०देखि यही कात्तिक १९ गतेसम्म सेयर बजार तिहार बिदा छ । अब बजार एकैपटक कात्तिक २० गते मंगलबार खुल्नेछ ।

कारोबार भइरहँदा दुई पटकसम्म बजारले २७ सय अंक नाघे पनि टिक्न सकेन । कारोबार सुरु भएको पाँच मिनेटमै नेप्से २७०५ अंकसम्म पुग्यो, जुन आजका लागि उच्चतम अंक रह्यो । दोस्रोपटक ११:४२ बजे फेरि २७०१ अंक पुगेको बजार त्यसपछि बिक्री चाप आउँदा ओरालो लाग्यो ।

यस दिन कारोबार रकममा भने कमी आएको छ । आज पाँच अर्ब ९५ करोड ३९ लाख रुपैयाँको सेयर खरिद–बिक्री भएको छ । मंगलबार भने ६ अर्ब १२ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको थियो ।

७५ कम्पनीको सेयर मूल्य बढेको छ भने १६४ कम्पनीको सेयर मूल्य घटेको छ । पाँच कम्पनीको सेयर मूल्य स्थिर छ । गुरास लघुवित्त वित्तीय संस्था र मिड सोलु हाइड्रोपावर कम्पनीको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ ।

कारोबारमा आएका १३ समूहगत परिसूचकमध्ये निर्जीवन बिमा समूह, होटेल तथा पर्यटन समूह र व्यापार समूहको बढेको छ ।

होटेल तथा पर्यटन समूह २.५२ प्रतिशत, निर्जीवन बिमा समूह ०.४९ प्रतिशत र व्यापार समूह ०.३२ प्रतिशतले वृद्धि भएको छ । 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार