मेलवर्नमा एक सातामा दुई नेपालीको मृत्यु

अष्ट्रेलियाको मेलवर्न सहरमा एक साताको अवधिमा दुई नेपाली युवाको मृत्यु भएको छ । एक युवाको सडक दुर्घटना र अर्कोको आगलागीमा परेर मृत्यु भएको हो ।

मेलबर्नको सेन्ट अल्बान्स क्षेत्रमा बसोबास गर्दै आएका काठमाडौंका विशाल केसीको आगलागीबाट परी मृत्यु भएको छ । उनी बस्दै आएको घरमा भाइटीकाको दिन आगलागी भएको थियो ।

आगलागी कसरी भएको भन्ने विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ । अग्नि नियन्त्रकलाई सो आगलागी नियन्त्रण गर्न ५० मिनेट लागेको थियो । केसी गएको १० वर्षदेखि अष्ट्रेलियामा बस्दै आएका थिए ।

अर्को घटनामा चितवन घर भई भिक्टोरियाको बालाराटमा बस्दै आएका निशान्त सिंहको मृत्यु भएको छ ।

सिंह चढेको कारलाई अर्को कारले ठक्कर दिएको थियो । दुर्घटनापछि उनलाई तत्कालै एयर एम्बुलेन्समार्फत नजिकैको अस्पतालमा लगिएको भए पनि चिकित्सकले मृत घोषित गरेका थिए । पछिल्लो समय सिभिल इन्जिनियरका रूपमा एक अष्ट्रेलियन कम्पनीमा कार्यरत थिए ।

प्रहरीले दुर्घटनामा संलग्न अर्को कारका चालकलाई पक्राउ गरेर अनुसन्धान गरेको थियो । कारका चालकको साथबाट लागुपदार्थ समेत भेटिएको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार