एसपी र इन्स्पेक्टर मुछिएको हनी ट्रयाप घटनामा सीआईबीले थाल्यो अनुसन्धान

ललितपुरमा प्रहरी समेतको मिलेमतोमा ‘हनी ट्र्याप’ मा पारेको घटनाको अनुसन्धान केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले गर्ने भएको छ ।

एक जना व्यापारीलाई बलात्कारको मुद्दामा फसाउने भन्दै ३० लाख असुली गरेको घटना सिआइबीले अनुसन्धान गर्ने भएको हो । नेपाल प्रहरीका एसपी कमल थापामाथि पनि अनुसन्धान गर्नुपर्ने देखिएपछि प्रहरी प्रधान कार्यालयले थप अनुसन्धानका लागि सीआईबीलाई जिम्मेवारी दिएको हो ।

सीआईबीका प्रमुख एआईजी दिपक थापाका अनुसार, यो प्रकरणको नेक्सस विभिन्न जिल्लासँग जोडिएकाले मंगलबारदेखि अनुसन्धान थालिएको छ । ‘संगठित अपराधको कसुरमा हामीले पनि अनुसन्धान गरिरहेका थियौं । तर यसमा सिनियर अफिसरको कुरा पनि आएको छ । अन्य जिल्लामा पनि घटना भएको कुरा आएकाले हामीले सिआइबी पठाएका हौं,’ उनले भने ।

खनालका अनुसार बुधबार अनुसन्धानका लागि पक्राउ परेका चारै जना व्यक्तिहरू र मिसिल पठाइसकेको छ । यस घटनामा सुष्मा विक, ताज मुल इस्लाम, भीमादेवी थापा र प्रहरी सहायक हवल्दार महेन्द्र हमाल प्रहरीको हिरासतमा छन् । उनीहरूमाथि आपराधिक लाभ लिन नहुने कसुर र संगठित अपराधमा अनुसन्धान गरिरहेको हो ।

गएको ६ असोजमा प्रहरी प्रभाग, भैंसेपाटीकी तत्कालीन प्रहरी निरीक्षक बिनुकुमारी शाहीको संलग्नतामा प्रहरी चौकीमा लेनदेन भएको भन्दै ललितपुर प्रहरी परिसरका अधिकारीहरुसमक्ष सूचना पुगेको थियो । त्यसपछि ललितपुरका एसएसपी शेखर खनालले सबैलाई कार्यालयमा बोलाएर छानबिन थालेका थिए ।

त्यसक्रममा इन्स्पेक्टर शाहीको पनि शंकास्पद भूमिका देखिएको थियो । पछि प्रहरीले उनलाई पनि प्रतिवादी बनायो । पक्राउ पूर्जी जारी भएपछि शाही फरार छिन् । ललितपुर प्रहरीको छानबिन समितिको जाँचका क्रममा शाहीलाई प्रकरणका आरोपी ताजसँग एसपी कमल थापाले चिनजान गराइदिएको भेटिएको थियो ।

प्रहरीका सिनियर अधिकारीसमेत जोडिएको र अन्तरजिल्लाको समेत घटना जोडिएपछि ललितपुर प्रहरीले सिआइबीलाई अनुसन्धान गर्ने जिम्मा दिएको हो।

सम्बन्धित समाचार