डोटीको राजपुरस्थित सुजङ अस्पतालमा उपचारका क्रममा एक बालिकाको मृत्यु भएको छ ।
बायाँ हात भाँच्चिएर घाइते भएकी डोटी दिपायल सिलगढी नगरपालिका–३, दिपायलका लोकेन्द्र भुलकी ९ वर्षीया छोरी रजनी भुलको उपचारको क्रममा मृत्यु भएको हो । उपचारका क्रममा लापरवाही गरेको आरोपमा प्रहरीले तीन जना चिकित्सलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ ।
पौडी खेल्ने क्रममा लडेर बायाँ हात भाँच्चिई उपचारका लागि सुजङ अस्पतालमा भर्ना गरिएकोमा बुधबार राति करिब ८ बजे शल्यक्रिया गर्नका लागि सुइमार्फत एनेस्थेसिया दिइएको थियो । तर बालिका त्यसपछि होसमा आइनन् ।
उपचारका क्रममा लापरवाही भएको आरोपमा अस्पतालमा कार्यरत चिकित्सकहरु डा.। राजमणि यादव, डा. सुरेन्द्रकुमार चौधरी र डा. अभिषेक यादवलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।