नेपालमा खोजी भइरहेका अमृतपाल पञ्जाबमा देखिए

एजेन्सी : पञ्जाब प्रहरीले थुप्रै दिनदेखि खालिस्तानी समर्थक अमृतपाल सिंहबारे विभिन्न जानकारी दिइरहेको छ । केही दिन अघि अमृतपाल नेपालमा लुकेर बसेको भारतीय दूतावासले दाबी गरेको थियो ।

भारतीय सुरक्षा एजेन्सीको खोजीको सूचीमा रहेका अमृतपाल पछिल्लो समय पञ्जाबबाट भागेर नेपाल आएको दूतावासले बताएको छ । तर भारतीय सञ्चार माध्यमका अनुसार मङ्गलवार अबेर राती अमृतपाललाई पञ्जाबमा देखिएको छ ।

हिन्दुस्तान टाइम्सका अनुसार उनी पञ्जाब राज्यको होशियारपुरमा छन् र प्रहरीलाई पुनः झुक्क्याउन सफल भएका छन् । यता पञ्जाब प्रहरीले उनलाई पक्राउ गर्नका लागि मङ्गलवार अबेर राती फगवाडा–होशियारपुर रोडमा घेराबन्दीलाई तीव्र गरेका छन् ।

स्रोतका अनुसार होशियारपुरमा एक इनोभा कार देखिएको थियो जसभित्र अमृतपाल भएको आशङ्का गरिएको थियो । प्रहरीले सूचना पाएपछि घेर्ने कोसिस गर्दा अमृतपाल कार छोडेर गाउँमा भागेको भारतीय सञ्चार माध्यमले बताएको छ ।