सलमानलाई १५ दिनमा चौथो पटक धम्की

बलिउड अभिनेता सलमान खान लगातार धम्की खेपिरहेका छन् । बिहीबार राति पनि लरेन्स बिश्नोई समूहको ग्याङबाट उनलाई धम्की आयो ।

एक गीतलाई लिएर धम्की आएको जनाइएको छ । रिपोर्टका अनुसार सन्देश पठाउनेले आफूलाई लरेन्स गिरोहको सदस्यको रूपमा चिनाएको थियो । धम्कीमा एक गीत उल्लेख गरिएको छ, जसमा सलमान खान र लरेन्सको नाम जोडिएको छ ।

धम्कीमा लेखिएको छ– लेखकले अब गीत लेख्न सक्नेछैनन् । एक महिनाभित्र कारवाही हुन्छ । सलमानमा हिम्मत छ भने बचाऊ ।

पछिल्लो १५ दिनमा सलमानलाई चौथो पटक धम्की आएको हो । मुम्बई प्रहरीले यस विषयमा अनुसन्धान सुरु गरेको छ । नोभेम्बर ४ मा मुम्बईको ट्राफिक कन्ट्रोल रुममा पठाइएको सन्देशमा सलमानले बिश्नोई समुदायको मन्दिरमा गएर कालो हरिण सिकार मामिलामा माफी माग्न वा ५ करोड रुपैयाँ दिनुपर्ने लेखिएको थियो ।

यदि माफी नमागे ज्यान मार्ने धम्की दिइएको थियो । यस मामिलामा कर्नाटकबाट धम्की पठाउने व्यक्तिलाई पक्राउ गरिएको छ । अभियुक्तको नाम विक्रम रहेको बताइएको छ ।

अक्टोबर ३० मा सलमानलाई अर्को धम्कीपूर्ण सन्देश पठाएको आरोपमा ५६ वर्षीय आजम मोहम्मद मुस्तफा पक्राउ परेका थिए । मुम्बईको ट्राफिक कन्ट्रोल रुममा सन्देश पठाइएको थियो । म्यासेजमा सलमानले २ करोड नदिए मारिने बताइएको थियो ।

अक्टोबर २५ मा एनसीपी नेता बाबा सिद्दिकीका छोरा जिशानको कार्यालयमा २ करोड रुपैयाँ माग्ने सन्देश पनि पठाइएको थियो । सलमान र जिशानले पैसा नदिए मारिने भनिएको थियो । यस मामिलामा मुम्बई पुलिसले नोएडाबाट २० वर्षीय मोहम्मद तय्यबलाई पक्राउ गरेको थियो ।

सम्बन्धित समाचार