पाथीभरामा अबको १५ महिनाभित्र केबलकार चढ्न पाइने

ताप्लेजुङमा रहेको प्रसिद्ध धार्मिक तीर्थस्थल पाथीभरा मन्दिरसम्म पुग्ने केबलकार निर्माण शिलान्यास गरिएको छ । संविधानसभा सदस्य डम्बरध्वज तुम्बाहाम्फे र फुङलिङ नगरपालिका प्रमुख अमिर मादेनले शुक्रबार केबलकार निर्माण सुरुवाती बिन्दु काफ्लेपाटीमा संयुक्त रूपमा शिलान्यास गरेका हुन् ।

राजनीतिक दलका प्रतिनिधि तथा जिल्लावासीको उल्लेख्य उपस्थितिमा केबलकार निर्माण शिलान्यास गरिएको निर्माण कम्पनी हिमालय कन्स्ट्रक्सनका प्रमुख इन्द्र केदेमले जानकारी दिए । ‘जिल्लाका सबै राजनीतिक दलका प्रतिनिधि, माननीय, मेयरसहितका जनप्रतिनिधि तथा स्थानीयको उल्लेख उपस्थितिमा केबलकार निर्माणको शिलान्यास गरेका छौं अब काम द्रुत गतिमा हुन्छ,’ केदेमले भने ।

पाथीभरा केबलकार कुनै एउटा कम्पनीको मात्र नभएर समग्र ताप्लेजुङको आर्थिक, सामाजिक र सांस्कृतिक विकाससँग जोडिएको र यो कोशी प्रदेशकै आर्थिक समृद्धिको कोशेढुंगा बन्ने हुँदा निर्माण कार्य द्रुत स्तरमा अगाडि बढाउन सबै पक्षले सहयोग गर्नुपर्ने मेयर मादेनले बताए ।

यसअघि निर्माण हुने क्षेत्रमा रहेका रूख हटाइएको र केबलकार निर्माणको औपचारिक शिलान्यास भएको केबलकार कम्पनी सञ्चालक समिति सदस्य रुद्र पौडेलले जानकारी दिए । अबको १५ महिनाभित्र केबलकार चढ्न पाइने उनको भनाइ छ ।

उनका अनुसार पर्यटन प्रवर्द्धन, रोजगारी सिर्जना, वातावरणीय सन्तुलन र आर्थिक तथा सामाजिक विकासका लागि केबलकार लाभदायक बन्नेछ ।

सम्बन्धित समाचार