पाकिस्तानको बलुचिस्तान प्रान्तको क्वेटा रेलवे स्टेसनमा शनिबार भएको विस्फोटमा कम्तीमा २५ जनाको मृत्यु भएको छ । ठूलो संख्यामा यात्रु घाइते भएको प्रहरीले बताएकाे छ ।
क्वेटा रेलवे स्टेसनमा भएकाे विस्फोटमा घाइते भएका ४६ जनालाई उपचारका लागि स्थानीय अस्पतालमा लगिएको छ । मृतकको संख्या अझै बढ्नसक्ने प्रहरीले जनाएकाे छ ।
अफगानिस्तान र इरानको सिमानामा रहेको बलुचिस्तान प्रान्तको राजधानीमा स्थानीय समयअनुसार बिहान ८ः४५ बजे रेलले यात्रुहरूलाई पर्खिरहेको समयमा विस्फोट भएको स्रोतले जनाएको छ ।
पाकिस्तानी प्रहरीका एसएसपी अपरेसन मोहम्मद बलोचले भने- विस्फोट हुँदा करिब १५० देखि २०० मानिस प्लेटफर्ममा जम्मा भएका थिए र रेलको प्रतीक्षा गरिरहेका थिए।
उनले स्टेसनमा सर्वसाधारणसँगै सिपाही पनि जम्मा भएको र विस्फोटमा उनीहरू पनि हताहत भएको बताएका छन्।