भारी वर्षापछि जापानमा आपत्कालीन चेतावनी जारी

जापानी मौसम विज्ञान विभागले कागोसिमा र ओकिनावामा भारी वर्षाको कारण देखाउँदै शनिबार आपत्कालीन चेतावनी जारी गरेको छ । जसमा बाढीपहिरोलगायत जोखिमको सम्भावना उल्लेख गर्दै अधिकतम सावधानी अपनाउन आह्वान गरिएको छ ।

विभाग अनुसार, प्रतिकूल मौसमले कागोसिमाको योरोन सहर ओकिनावा प्रान्तमा अस्थिर वायुमण्डलीय अवस्था सिर्जना गर्दा भारी वर्षा भएको हो ।

योरोनमा २४ घण्टामा ५९४ मिलिमिटर वर्षा भएको छ । त्यो सन् १९७८ मा डाटा संकलन सुरु भएदेखिको सबैभन्दा बढी हो ।

ओकिनावाको हिगाशी गाउँमा २४ घण्टामा ४४२ मिलिमिटर वर्षा रेकर्ड गरिएको छ । स्थानीय अधिकारीहरूले बाढी प्रभावित क्षेत्रमा पहिरोको जोखिम रहेको रिपोर्ट गरेका छन् ।

यस क्षेत्रका बासिन्दालाई सम्भावित बाढीपहिरो र नदीको बढ्दो स्तरका निम्ति सतर्क रहन सूचित गरिएको छ ।

सम्बन्धित समाचार