मेची भन्सार कार्यालय : १० वर्षमा ६६ करोडको सामग्री बरामद

 मेची भन्सार कार्यालयले एक दशकमा चोरी पैठारी र निकासी भएको ६६ करोड १३ लाख आठ हजार ८२५ रुपैयाँबराबरको मालवस्तु बरामद गरेको छ । उक्त मूल्यबराबरको मालवस्तु आव २०७१/७२ देखि २०८०/८१ सम्म बरामद गरिएको हो ।

भन्सार कार्यालयका अनुसार, चोरीपैठारी हुने मुख्य मालवस्तुमा रेडिमेड कपडाअन्तर्गत सारी, कुर्ती थान कपडा समेत गरी भाडावर्तन, किराना सामग्री, मोबाइल, सुर्तीखैनी रहेका छन् । निकासीतर्फ गाई, बाछा, बाख्रा, सुपारी रहेका छन् ।

यसरी बिल बिजक नभएका निकासी पैठारी भएका मालवस्तु नेपाल प्रहरी, सशस्त्र प्रहरी र भन्सार कार्यालयले बरामद गरेको कार्यालयका नायब सुब्बा किशोर आचार्यले बताए ।

“यसरी चोरी निकासी र पैठारी भएको मालवस्तुसँग सम्बन्धित गत एक दशकको समयमा पाँच हजार १८३ वटा भन्सार कार्यालयमा मुद्दा दर्ता भएका छन्,” उनले भने ।

प्रमुख भन्सार अधिकृत राजेन्द्रप्रसाद चुडालका अनुसार, तिहारको समयमा भन्सारबाट प्लास्टिकका माला तथा फूल ल्याउन पूर्ण रूपमा प्रतिबन्ध लगाए पनि बजारमा सबैतिर उपलब्ध थिए ।

“भन्सारबाट एउटा प्लास्टिकको माला पनि नआउँदा बजारमा कहाँबाट त्यति ठूलो परिमाणमा माला आयो ? यो सबै अवैध रूपमा पैठारी भएको हो,” उनले भने ।

भारतसँगको खुला सीमाका कारण दैनिक रूपमा मालवस्तु अवैध तरिकाले निकासी पैठारी हुने गरेको प्रमुख भन्सार अधिकृत चुडालको भनाइ छ । 

सम्बन्धित समाचार