राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो सभापति रवि लामिछाने पक्राउविरुद्ध दोस्रो चरणको आन्दोलन गर्ने भएको छ । दोस्रो चरणमा संयुक्त सशक्त आन्दोलन गरिने पार्टीले जनाएको छ ।
शनिबार केन्द्रीय कार्यालय वनस्थलीमा बसेको रास्वपा केन्द्रीय समितिको बैठकबाट विभिन्न तीन निर्णय गरिएको पार्टीका कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए ।
‘मुलुकमा व्याप्त संगठित महाभ्रष्टाचार र कुशासन विरुद्ध, सहकारी पीडित, लघुवित्त एवं मिटर ब्याज पीडितका समस्या समाधान, प्रवासमा रहेका नेपाली युवाहरूको मुलुक निर्माणमा सहभागिता र प्रवासका समस्या समाधान एवं संविधान संशोधनसँग सरोकार राख्ने राष्ट्रिय राजनीतिका मूल मुद्दाहरूमा केन्द्रित रही आम नागरिकहरू र राष्ट्रिय हितका शक्तिहरूको सहकार्यमा अब दोस्रो चरणको सशक्त आन्दोलन,’ केन्द्रीय समिति बैठकबारे जानकारी दिँदै झाले भने ।
दोस्रो चरणको आन्दोलनको मिति भने तोकिएको छैन । लामिछानेविरुद्ध गरिएको कारबाहीलाई रास्वपाले राजनीतिक प्रतिशोधको निकृष्ट कृत्य ठहर समेत गरेको छ । उक्त कार्यको भर्त्सना गरिएको छ ।