चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’का नाममा थुप्रै रेकर्ड बनिरहेका छन् । चलचित्रले राम्रो कलेक्सन गरिरहेका बेला नयाँ–नयाँ रेकर्ड बन्दै गएका छन् ।
यो छोटो समयमा सबैभन्दा धेरै कलेक्सन गर्ने चलचित्र बनेको छ । यस फिल्मले ११ दिनमा २० करोड ७३ लाख ग्रस कलेक्सन गरेको हो । यसअघि यति छोटो अवधिमा यति कलेक्सन नेपाली चलचित्रले गरेका छैनन् ।
एकै दिन धेरै कलेक्सन गर्ने चलचित्रको रेकर्ड पनि ‘पूर्ण बहादुरको सारङ्गी’ले बनाएको छ । शनिबार यो चलचित्रले तीन करोड ८९ लाख ग्रसकलेक्सन गरेको छ । शुक्रबार यो चलचित्रले २ करोड ९९ लाख ग्रसकलेक्सन गरेको थियो भने आइतबार २ करोड ७५ लाख ग्रस कलेक्सन गरेको छ ।
साथै यस फिल्मले अत्याधिक शो पाउने फिल्मको समेत रेकर्ड कायम गरिसकेको छ । यसले एकै दिन ९८ हलमा ४६५ शो पाएको छ ।
यसअघि ‘बेहुली फ्रम मेघौली’ले ३४० शो पाएर सबैभन्दा धेरै शो पाउने चलचित्रको रेकर्ड बनाएको थियो । ‘बेहुली फ्रम मेघौली’को नाममा रहेको यो रेकर्ड ‘पूर्ण बहादुरको सारङ्गी’को नाममा आएको छ ।
यस फिल्ममा विजयसहित बुद्धि तामाङ, प्रकाश सपुत, अभिनेत्री अञ्जना बराइली, देशभक्त खनाल, अलिशा बास्कोटा, मुकुन भुसाल, भोलाराज सापकोटाको अभिनय छ ।
सरोज पौडेलको कथा र निर्देशन रहेको फिल्मलाई विनोद पौडेल र प्याट्रिक सुवेदीले निर्माण गरेका हुन् । फिल्मको पटकथा र संवाद महेश दवाडीले लेखेका हुन् । सेभेन सिजको प्रस्तुति रहेको यो फिल्म एक करोड ३० लाखमा बनेको हो ।