सहकारी ठगी प्रकरणमा पक्राउ परी कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वप) का सभापति रवि लामिछानेलाई भैरहवा लगिएको छ ।
बुटवलको सुप्रिम सहकारीको बचत रकम अपचलनमा पनि संलग्न भएको आरोपमा लामिछानेलाई कास्कीबाट बुटवल लागिएको हो ।
लामिछानेलाई कात्तिक २ गते काठमाडौंबाट पक्राउ गरी पोखरा लगिएको थियो । रुपन्देही जिल्ला अदालतले ८ कात्तिकमा लामिछानेसहित १२ जनालाई संगठित अपराधमा पक्राउ गर्न अनुमति दिएको थियो ।
विमानस्थलबाट लामिछानेलाई सिधै भैरहवामा रहेको जिल्ला प्रहरी कार्यालयमा राखिने छ । त्यसपछि जिल्ला सरकारी वकिलको कार्यालयमा लगिने छ । त्यहाँ लामिछानेको बयान लिने कार्य चल्नेछ । बयान सकिएपछि लामिछानेलाई फेरि पोखरा नै फर्काइनेछ ।
लामिछानेलाई रुपन्देही लगिएपछि राष्ट्रिय स्वतन्त्र पार्टीका नेता कार्यकर्ता र शुभेच्छुकले गौतमवुद्ध विमानस्थल भैरहवाअगाडि प्रदर्शन गरेका छन् । प्रदर्शनलाई मध्यनजर गर्दै ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।
बुटवलको सुप्रिम सहकारीको रकम गैरकानुनीरूपमा गोर्खा मिडिया नेटवर्कमा सारिएको विषयमा नेटवर्कका तत्कालीन उपाध्यक्ष छविलाल जोशीसँग यसअघि दुई दिन बयान लिएर पोखरा पठाइएको थियो । बुटवलको सुप्रिम सहकारीबाट जोशीको नाममा दुई करोड ५० लाख र लामिछानेको नाममा एक करोड ९६ लाख रुपैयाँ गोर्खा मिडिया नेटवर्क प्रालिमा गएको संसदीय विशेष छानबिन समितिको प्रतिवेदनमा उल्लेख छ ।
जोशी र लामिछानेसहित जीबी राई, भूपेन्द्रबाबु राई, कुमार रम्तेल र गोर्खा मिडिया नेटवर्कका नाममा गरी सुप्रिम सहकारीबाट १४ करोड २९ लाख ३६ हजार रुपैयाँ रकम पठाइएको छानबिन समितिको प्रतिवेदनमा उल्लेख छ ।