वैदेशिक रोजगारमा विभिन्न देशमा पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ

आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देशमा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ३ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरूमा स्याङ्जाको बिरुवा गाउँपालिका-१ घर भई काठमाडौं महानगरपालिका-३१ बानेश्वर बस्ने ५० वर्षीया कमला कुमारी केसी, बाग्लुङको बडिगाड गाउँपालिका-९ घर भई भक्तपुरको सूर्यविनायक नगरपालिका-२ बालकोट बस्ने २२ वर्षीया सीता बुढा र झापाको मेचीनगर नगरपालिका-१० घर भई काठमाडौं महानगरपालिका-२६ नयाँबसपार्क बस्ने २६ वर्षीय मनिश खड्का रहेका छन् ।

पक्राउ मध्ये कमला कुमारीले क्रोएसिया पठाइदिन्छु भन्दै ४ जना पीडितबाट ८ लाख २५ हजार रूपैयाँ, सीताले युके पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख रुपैयाँ र मनिशले क्रोएसिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख २५ हजार रुपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

कमलालाई काठमाडौं बानेश्वरबाट र सीतालाई काठमाडौं डिल्लीबजारबाट आइतबार तथा मनिशलाई काठमाडौं टेकुबाट सोमबार प्रहरीले पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार