नेपाल टेलिकमले कम्पनी अन्तर्गतको दूरसञ्चार तालिम तथा अनुसन्धान केन्द्र, बबरमहलमा ‘असम्बन्धित व्यक्ति’हरूले धर्ना दिइरहेको बताएको छ । उनीहरूको धर्नाका कारण कार्यालयका सरसफाई र कार्यसम्पादनमा असहजता आएको टेलिकमको भनाइ छ ।
टेलिकमका प्रवक्ता हरि ढकालका अनुसार कम्पनीको सेवा विस्तार, मर्मत सम्भार, सुरक्षा, सरसफाई लगायतका सेवा आवश्यकता बमोजिम बोलपत्र प्रकृयाबाट निश्चित समय तथा कार्य तोकी आउटसोर्सिङको माध्यमबाट निजी सेवा प्रदायक कम्पनीसँग प्रचलित नियमरकानून बमोजिम सम्झौता गरी आवश्यक सेवा लिने गरिन्छ । सो सम्झौताको समयावधि वा तोकिएको कार्यावधि समाप्तिसँगै सेवा प्रदायक कम्पनीसँगको दायित्व पनि समाप्त हुन्छ ।
अहिले कम्पनीले दूरसञ्चार तालिम तथा अनुसन्धान केन्द्र, बबरमहलमा सरसफाईका लागि विगतको सेवा प्रदायक कम्पनीसँगको सम्झौता अवधि समाप्त भई हाल प्रतिस्पर्धाका आधारमा नयाँ सेवा प्रदायक कम्पनीले सेवा उपलब्ध गराइरहेको ढकालले बताए ।
‘यो अवस्थामा विगतको सेवा प्रदायक कम्पनीसँग सम्बन्धित जनशक्तिले कम्पनीको प्राङ्गण बाहिर विभिन्न माग राखेर धर्ना दिई कम्पनीको कार्यसम्पादनमा असहजता सिर्जना गर्नुका साथै नयाँ सेवाप्रदायक कम्पनीका जनशक्तिहरूलाई कम्पनीको कार्यालयमा सरसफाई सम्बन्धी कार्य गर्न अवरोध सिर्जना समेत गरेको अवस्था छ’, प्रवक्ता ढकालले भनेका छन् ।
हाल विगतको सेवा प्रदायकसँगको दायित्व समाप्त भइसकेको अवस्थामा ती जनशक्तिसँग नेपाल टेलिकमको कुनै सरोकार नरहेको समेत उनले स्पष्ट पारे ।