नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ अन्नतः उद्योगमा लाइन जोड्न तयार भएका छन् ।
मन्त्रिपरिषद् र सञ्चालक समितिको निर्णयपछि कुलमानले मातहतका कार्यालयलाई उद्योगहरूमा लाइन जोड्न निर्देशन दिएका हुन् । सोही अनुसार मंगलबार राति ६ वटा उद्योगमा लाइन जोडिएको छ भने बाँकी उद्योगमा पनि आज जोडिने प्राधिकरणले जनाएको छ ।
बुधबार लाइन काटिएका सबै उद्योगमा लाइन जोडिने प्राधिकरणका प्रवक्ता चन्दनकुमार घोषले बताए ।
महसुल भुक्तानी नगरेपछि प्राधिकरणले गत कार्तिक ८ गते ३४ ठूला उद्योगको लाइन काटेको थियो । सरकारी हस्तक्षेपपछि प्राधिरकरणले महसुल भुक्तानी बिनै लाइन जोड्न थालेको हो ।
प्राधिकरणका कर्मचारीहरु सोमबारदेखिनै लाइन जोड्न तयार रहेपनि कार्यकारी निर्देशकको सर्कुलर आउन ढिलाई हुदा अलमलमा परिरहेका थिए । मंगलबार पनि साँझ मात्र सर्कुलर पठाएकोले सम्भव भएसम्म बुधबार नै सबै ठाउँमा लाइन जोड्ने तयारी प्राधिकरणको छ ।