अमेरिका लैजान्छु भन्दै ठगी गरेको आरोपमा फिल्म ‘तेल भिसा’का निर्माता तथा निर्देशकमाथि प्रहरीमा उजुरी परेको छ । निर्माता तथा निर्देशक शंकर घिमिरे र ऋचा घिमिरेले अमेरिका लैजान्छु भन्दै ठगी गरेको दाबीसहित उजुरी परेको हो ।
अमेरिका लगिदिने भन्दै पैसा लिएर अमेरिका नलगेको र पैसा फिर्ता पनि नगरेको भन्दै उनीहरूविरुद्ध उजुरी परेको प्रहरीले जनाएको छ ।
“अमेरिका लगिदिन्छु भनेर पैसा लिएको तर अमेरिका पनि नलगेको र पैसा फिर्ता माग्दा पनि नदिएको भन्दै उजुरी परेको छ,” एक उच्च प्रहरी अधिकारीले भने, “घटनाको वास्तविकता के हो हामी अध्ययन गरिरहेका छौँ ।”
लामो समयदेखि अमेरिकामा बस्दै आएका शंकर र ऋचा दम्पती हुन् । पछिल्लो फिल्म ‘तेल भिसा’ प्रदर्शनको लागि उनीहरु यतिबेला काठमाडौंमा छन् ।
यो फिल्मको छायांकन पनि अमेरिकामा गरिएको हो । कथावस्तु पनि अमेरिकास्थित नेपाली समुदायको कथामा आधारित छ । ऋचा र शंकर दुवै नेपाली फिल्म क्षेत्रका चर्चित कलाकार तथा निर्देशक हुन् । ‘तेल भिसा’को प्रदर्शन मंसिर ७ गते हुने जनाइएको छ ।